NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमालेबाट अलग भएको तीन महिनापछि नेकपा एस प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौं । निर्वाचनको मुखमा एमाले परित्याग गरेर दलबिहिन भएका घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । साना वामपन्थी दलसँग मिलेर नयाँ पार्टी खोल्ने कि एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने भन्नेमा दोधारमा रहेका उनी नेकपा एस प्रवेश गर्न लागेका हुन् ।

एकीकृत समाजवादीका एक उच्च नेताका अनुसार भुसाललाई एक हप्तभित्र पार्टी प्रवेश गराउने तयारी भएको जानकारी दिए । पार्टी प्रवेशको विषयमा उनी नेकपा एसका उच्च नेताहरूसँग निरन्तर सम्पर्कमा रहेका थिए ।

‘घनश्यामजीलाई पार्टीमा स्वागत गर्नकालागि तयारी भइरहेको छ । उहाँ एक हप्ताभित्र पार्टी प्रवेश गर्नुहुन्छ’, ती नेताले भने, ‘उहाँले पाउने जिम्मेवारीको विषयमा अहिले कुनै सहमति भएको छैन । अहिलेलाई सचिवालयको जिम्मेवारी दिने गरी उहाँलाई पार्टीमा स्वागत गर्न लागिएको हो ।’

एकीकृत समाजवादी प्रवेश गर्नुअघि भुसालले वार्ता कार्यदलको संयोजकसमेत रहेका महासचिव डा. बेदुराम भुसाललाई कम्युनिस्ट पुनगर्ठन, रुपान्तरण र एकीकरणको लागि प्रस्ताव गरेका छन् ।

नयाँ उचाइबाट कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नुपर्छ भनेर आफूले डेढ वर्षदेखि प्रस्ताव पार्टीमा प्रस्ताव राखेको उनले उल्लेख गरेका छन् । एमालेबाट अलग भएपछि स्वतन्त्र ढंगले कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने या कुनै कम्युनिस्ट पार्टीमा सहभागी भएर काम गर्ने विकल्प रहेको भुसालले नेकपा एसलाई लेखेको पत्रमा उल्लेख छ ।

‘नेकपा (एमाले)बाट अलग भएपछि मेरा अगाडि या त स्वतन्त्र रहेरै कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकताका लागि स्वतन्त्र अभियान सञ्चालन गर्ने या कुनै कम्युनिष्ट पार्टीमा सहभागी भएर त्यस दिशामा काम गर्ने विकल्प छन् भनेर सार्वजनिकरुपमा बोल्दै आएको छु कम्युनिष्ट तथा वाम आन्दोलनमा योगदान गरेका तर अहिले कुनै पार्टीमा सङ्गठित नरहेका र वैकल्पिक राजनीतिको खोजीमा लागेका कैयन् प्रगतिशील तथा वाम झुकावका साथीहरुसँग नेपालको राजनीतिमा गर्नुपर्ने प्रगतिशील रुपान्तरणका बारेमा देशव्यापीरुपमा बहस चलाउदै एकता तथा रुपान्तरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएको छु’, प्रस्तावमा उल्लेख छ ।

एमाले अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भएको भन्दै उनले असोज २२ गते पार्टी परित्यागको घोषणा गरेका थिए । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवार रहेका भुसाललाई टिकट नदिइ ओलीले राप्रपाका उम्मेदवार दीपक बोहरालाई समर्थन गरेका थिए । ओलीको कदमबाट रुष्ट भएका भुसालले पार्टी परित्याग गरी सत्ता गठबन्धनको सहयोगमा रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग तीन हजार ५८२ मतले पराजित भए ।
निर्वाचनमा पराजय भोगेपछि भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, महासचिव डा. बेदुराम भुसाललगायत शीर्ष नेतासँग निरन्तर सम्वादमा थिए । रुपन्देहीबाट काठमाडौं फर्किए लगत्तै भुसाल आफ्ना पूर्वनेता माधव नेपाललाई भेट्न मंसिर १८ गते नेपाल निवास कोटेश्वर पुगेका थिए ।

अध्यक्ष नेपाललाई भेट गरेपश्चात् उनी नेकपा एसका शीर्ष नेताहरूलाई भेट्न पार्टी कार्यालय कोटेश्वर पुगेका थिए । उनलाई अध्यक्ष नेपाल, नेता खनाल र महासचिव भुसाल लगायत शीर्ष नेताहरूले पार्टीमा आउन उनालाई आग्रह गरेका थिए ।

स्रोतका अनुसार उक्त विप्लव नेकपाका विद्रोही समूहका संयोजक धर्मेन्द्र बास्तोलाले पार्टी एकताका लागि भुसासँग प्रस्ताव गरेका थिए । नयाँ संश्लेषणका आधारमा एउटै कम्युनिस्ट पार्टी बनाएर जाने बास्तोलाको प्रस्तावप्रति उनी सकारात्मक भएपनि कुनै निष्र्कष दिएनन् ।
एमालेमा लामो समय नेपाल निकट रहेका भुसाल पार्टी विभाजनको विपक्षमा उभिएका थिए । भुसालको नेकपा एस प्रवेशलाई लिएर एकीकृत समाजवादीका नेता तथा कार्यकर्तामा खुशीयाली छाएको छ ।