NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सरकारलाई गरेको समर्थन देख्दा देशको दोहन गर्न एकजुट भएजस्तो लाग्यो – केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले खर्चिलो निर्वचन प्रणालीबाट चुनाव जितेर आएकाहरू एकजुट भएर सरकारलाई समर्थन गरेको आरोप लगाएका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने घोषणा गर्दै उनले पैसा खर्च गरेर चुनाव जितेर आएकाहरूले सरकारलाई समर्थन नगरी खर्च उठाउन गाह्रो हुने बताए ।

‘बोराबाट पैसा लगेर खर्च गरेर चुनाव जितेर अएकाले सरकारमा नबसी, देशको दोहन नगरी चुनाव खर्च उठ्छ ?, उनले भने, ‘यसैबाट बच्न सबै एकै ठाउँमा उभिएको पो हो कि भन्ने डर लागेको छ । यसबाट नेपालो लोकतन्त्र, प्रजातन्त्र बलियो हुन्छ भन्ने लाग्दैन ।’

उनले आफूले चिनेको संसद प्रतिपक्षसहित हुनुपर्नेमा अहिले सरकार नै बलियो प्रतिपक्षविहिन भएको बताएका छन् । सत्तापक्षलाई यहाँभन्दा आनन्द केही नहुने भन्दै उनले नेपालमा विचित्र भएको बताए ।

‘सत्ता पक्षकलाई यहाँभन्दा आनन्द के होला । यो कुन किसिमको समर्थन हो मैले बुझ्नै सकेको छैन,’ उनले भने, ‘मैले संसदमा बुझेको प्रतिपक्ष हुन्छ । बलियो शक्तिशाली प्रतिपक्ष भएन भने सरकार निरंकुश हुन्छ । जे मन लाग्यो त्यही गर्छ ।’

सरकारलाई सबैले समर्थन गर्नुले हालका दलहरूले विगतका आफ्नै कमी कमजोरी लुकाउन यो चाल बुनेकोमा उनले शंका प्रकट गरेका छन् । ‘यो कतै सरकारले विगतका आफ्नै कमी विगतका कमीकमजोरी लुकाउने चाल त होइन ? यसरी सरकार चल्छ ? आज देखिएको दृश्य डरलाग्दो छ,’ उनले भने ।

संसदमा पूर्वप्रधानमन्त्रीहरूबीच विघटनलाई लिएर परेको जुहारीप्रति पनि उनले शंका प्रकट गरेका छन् । ‘समर्थन फिर्ता लिएको अवस्थामा यो सरकारको हालत के हुन्छ ? विगतमा भएको विघटनको विषयलाई लिएर पूर्वप्रधानमन्त्रीको जुहारी चलिरहेको छ । फेरि पनि यही चाल त होइन, ? उनले प्रश्न गरे ।

उनले मुलुकको राष्ट्रियता, सार्वभौमता र अखण्डताको पक्षमा निरन्तर एक्लै भएपछि लड्ने बताएका छन् ।