NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

‘सवल संघ निर्माणमा अध्यक्षको भूमिका’ विषयक गोष्ठी सम्पन्न

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालित ‘सवल संघ निर्माणमा अध्यक्षको भूमिका’ विषयक गोष्ठी सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा महासंघले एक कार्यक्रमको आयोजना गरी सो गोष्ठी सम्पन्न गरेको हो ।

मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा तथा महासंघका अध्यक्ष मिनराज कडेलको सभापतित्वमा भएको कार्यक्रममा महासंघका सञ्चालक, सल्लाहकार, सहकारी रजिष्टर, जिल्लागत संघका अध्यक्ष एव अन्य प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा मन्त्री भण्डारीले राज्यको हरेक क्षेत्रमा जनतालाई सहभागिता नगराएसम्म केही गर्न सम्भव नभएको उल्लेख गर्दै देशको अर्थतन्त्रलाई सबल बनाउन, सामाजिक रुपान्तरणलगायतमा सहकारीको योगदान महत्वपूर्ण भएको औल्याए ।

मन्त्री भण्डारीले सहकारीको हीत र रक्षाको लागि महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । त्यस्तै उनले महासंघ रचनात्मक साझेदार भएको प्रष्ट्याउँदै सहकारीलाई राज्यबाट अलग गर्न नमिल्ने बताए । आर्थिक वर्षको आधा समय सकिन लाग्दा पनि पुँजीगत खर्च गर्न नसकेको विडम्बना अवस्था देशमा रहेको जनाउँदै उनले अहिले श्रम गर्ने क्षेत्र बढी प्रभावित भएको स्पष्ट पारे । साथै मन्त्री भण्डारीले नीतिगत रुपमा भएको समस्याहरुलाई एक महिनाभित्र समाधान गर्न सरकार अघि बढ्ने विश्वास व्यक्त गरे ।

गोष्ठीमा सवल संघ निर्माणमा अध्यक्षको भूमिकाका साथै महासंघ, संघ, केन्द्रिय संघ, तीन तह सरकारको भूमिकाबारे विभिन्न व्यक्तित्वहरुले सम्बोधन गरेका थिए । साथै गोष्ठीमा ‘सदस्य संघ प्रवद्र्धनमा राष्ट्रिय सहकारी महासंघ’ विषयमा महासंघका महाप्रबन्ध चित्राकुमारी थाम्सुहाङ सुम्बाले कार्यपत्र प्रस्तुत गरिन् ।

महाप्रबन्धक थाम्सुहाङ सुम्बाले आफ्नो कार्यपत्रमार्फत सदस्य संघहरुको संस्थागत विकासमा महासंघले गरेका प्रयास, महासंघका रणनीतिक तथा योजना निर्माण, संघको साझेदारीमा महासंघले गरेका गोष्ठी तथा अन्तरक्रियालगायतका कार्यक्रमको बारेमा जानकारी गराइन् । यीबाहेक उनले आफ्नो कार्यपत्रमार्फत महासंघले संघको साझेदारीमा गरेको निःशुल्क शिक्षा तथा तालिम कार्यक्रम एक जिल्ला एक उत्पादन कार्यक्रम, उत्कृष्ट सहकारीलाई पुरुस्कार वितरण कार्यक्रमबारे प्रस्तुति दिइन् ।

सहकारी विभागका रजिष्टार रुद्र प्रसाद पण्डितले ‘सवल संघ निर्माणमा नेतृत्वको भूमिका’ बारे कार्यपत्र प्रस्तुत गरे । उनले आफ्नो कार्यपत्रमार्फत संघ गठन विधि, संघ गठनको उद्देश्य, जिल्ला सहकारी संघको नेतृत्वको भूमिका, चुनौती, सदस्य संस्थाहरुको अभिभावकको रुपमा नेतृत्वका भूमिकालगायतका विषयमा प्रष्ट पारे । यीबाहेक उनले आफ्नो कार्यपत्रमार्फत सहकारी क्षेत्रको प्रवद्र्धनमा नेतृत्वको भूमिका, सहकारी अभियानको हिस्सेदारीमा नेतृत्वको भूमिका, तालिम र क्षमता विकासमा नेतृत्वको भूमिकाबारे प्रस्तुति दिए ।

कार्यक्रममा साना किसान विकास लघु वित्तीय संस्थाका नायब प्रमुख कार्यकारीप् अधिकृत डा. नवराज सिंखडाले सवल संघ प्रवद्र्धनका अध्यक्ष्यको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमार्फत उनले सहकारीको उद्देश्य र लक्षित समुदाय, सहकारी संघहरु, संघका सेवाहरु प्रभावकारी संघको मूख्यमूख्य आय स्रोत, प्रभावकारी संघ निर्माणमा अध्यक्षमा हुनुपर्ने गुणहरुबारे प्रस्तुति दिए । यीबाहेक गोष्ठीमा सहकारीमा डिजिटलाइजेसन विषयमा प्रस्तुतिकरण भएको थियो ।

गोष्ठीमा सहभागीहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बन्धित व्यक्तिमार्फत छलफलसहित सम्बोधनसमेत गरेका थिए ।