NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

विश्वासको मत नै नपाउने दाबी गरिएका प्रधानमन्त्री प्रचण्ड कसरी भए शक्तिशाली ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र स्थापना यताकै शक्तिशाली प्रधानमन्त्री भएका छन् ।

मंगलबार प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा भएको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसलेसमेत विश्वासको मत दिएपछि उनी शक्तिशाली भएका हुन् । प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा २६८ मत आएको छ भने विपक्षमा २ मत परेको छ । उनी भारी मतले निर्वाचित भएसँगै संसद प्रतिपक्षबिहिन भएको छ ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम निर्वाचित भएका प्रधानमन्त्रीविरुद्ध अब दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन पाउने छैन । सरकारका गलत कामको खबरदारी गर्न सशक्त प्रतिपक्ष नहुँदा प्रचण्ड सरकारलाई हाइसन्चो भएको छ ।

१७ महिना लामो देउवा नेतृत्वको गठबन्धन तोडेका प्रचण्ड १० पुसमा एमाले अध्यक्ष केपी ओलीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई रास्वपा, राप्रपा, जसपा, जपा, नाउपा र तीन स्वतन्त्र सांसदसहित १६९ जनाले समर्थन गरेका थिए ।

कटु आलोचक ओलीको प्रस्तावमा गणतन्त्र विरोधी राप्रपा, मध्य दक्षिणपन्थी पार्टी रास्वपा, पृथकतावादी आन्दोलनका प्रर्वद्धक जनमत पार्टीको समर्थनमा प्रधानमन्त्री भएपछि प्रचण्ड सरकारको भविष्यलाई लिएर राजनीति वृत्तमा विभिन्न आशंका जन्मिएको थियो ।

वामपन्थी नेता राधाकृष्ण मैनालीले ओलीको योजनावद्ध षड्यन्त्रमा प्रचण्डलाई प्रधानमन्त्री बनाउको आरोप लगाउँदै यो सरकार ६ महिनामा ढल्ले दाबी गरेका थिए ।

‘प्रचण्डप्रति अनुदार रहेका ओलीले दया मायाले प्रधनमन्त्री बनाएका होइनन् । राज्य सत्ताको चाबी आफ्नो हातमा लिएपछि ओलीले ६ महिनामा प्रचण्ड सरकार ढाल्नेछन्’, केही दिनअघि नेपालवाचसँग उनले भने, ‘ओलीको षड्यन्त्र प्रनिनिधिसभा विघटन गरी मध्यावधिमा जाने हो । त्यही योजना अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन् ।’

विपक्षी दल, नागरिक समाज, कानुन व्यवसायी, वौद्धिक वर्गलगायतले त प्रचण्ड सरकारले विश्वासको मतसमेत नपाउने जिकिर गर्दै आएका थिए ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३२ सिटसहित कमजोर धरातलमा उभिएका प्रचण्ड सरकारले एकाएक राष्ट्रिय सहमितको सरकारको मान्यता पाएपछि राजनीतिक विश्लेषकहरूको दाबी खारेज भएको छ ।

१० वर्ष लामो जनयुद्ध परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड २०६५ मा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । एमालेको समर्थनमा दुइतिहाइको प्रधानमन्त्री भएका उनी प्रधानसेनापति रुकमाङ्गत कटुवाल काण्डमा असफल भएपछि ९ महिनामै राजीनामा दिए ।

त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारले शान्ति, संविधान र विकास निर्माणमा कुनै काम गर्न नसकेको भन्दै उनी निकै आलोचित भएका थिए । त्यसयता प्रत्येक निर्वाचनमा जनविश्वास गुमाउँदै आएका प्रचण्ड २०७३ मा कांग्रेसको समर्थनमा दोस्रोपटक प्रधामन्त्री भए ।

दोस्रो कार्यकालमा स्थानीय तहको निर्वाचन लगायत केही नीतिगत सुधार गर्ने प्रयास गरेका थिए । २०७४ मा भएको निर्वाचनमा एमालेसँग गठबन्धन गरी केही सिट संख्या वृद्धि गरेपनि पार्टीको समग्र स्वरुपमा सुधार ल्याउन सकेनन् ।

संसदीय राजनीतिमा प्रवेश गरी कहिले कांग्रेस कहिले एमालेसँग मिलेर अवसरवादी चरित्र देखाएको आरोप खेप्दै आएका छन् । प्रचण्डकै अग्रसरतामा ०७४ मा एमाले र माओवादीबीच पार्टी एकता भएको थियो ।

७३ वर्ष लामो नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा नेकपाले अध्याधिक बहुमत ल्याउन सफल भयो । तर ओली–प्रचण्डबीचको शक्ति संघर्षका कारण नेकपा घिटन भयो । २०७९ को निर्वाचनमा आइपुग्दा रक्षात्मक अवस्थामा आइपुगेका प्रचण्डसामु देशकै नेतृत्व लिएर सर्वमान्य नेता बन्ने अन्तिम अवसर मिलेको छ ।

संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा नाम लेख्न मात्र तेस्रोपटक प्रधानमन्त्री नबनेको जिकिर गरेका छन् । ‘म तेस्रोपटक प्रधानमन्त्रीको फोटो झुन्ड्याउन सिंहदरबार आएको होइन् । केही गर्ने आवेक र अनुभवकासाथ आएको छु’, उनले भने, ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने मैले विश्वास लिएको छु । अन्तिम अवसरको रुपमा लिएको यो कार्यकालमा केही गरेर इतिहासमा नाम लेखाउन चाहन्छु ।’

प्रधानमन्त्रीले भनेजस्तै तेस्रो कार्यकाल प्रचण्डका लागि काम गर्ने अन्तिम अवसर भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।‘विगतको छवि सुधार गर्न प्रचण्डजीलाई अन्तिम अवसर हो । प्रधानमन्त्रीले संसदमा राखेको प्रतिवद्धता निकै राम्रो छ । उनले त्यसलाई व्यवहारमा कसरी उर्ताछन् हेर्न बाँकी छ’, उनलेभने, ‘देश र जनताको पक्षमा राम्रो काम गरेमात्र पार्टी बलियो हुनेछ । जनविश्वास गुमायो भने पार्टी बलियो हुन सक्दैन । यसतर्फ प्रचण्डले निकै ध्यान दिनुपर्छ ।’

समकालीन राजनीतिका निकै चतुर र चलायमान नेता रहेका प्रचण्डले सत्तासहयात्री दलसहित प्रतिपक्षलाईसमेत विश्वासमा लिएर देश र जनताको पक्षमा सकारात्मक काम गर्ने सके उनको जीवनको उत्तराद्र्ध सुखदायी हुने देखिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष