NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कांग्रेसको विश्वासको मतले ओलीमा देखिएको अविश्वास : के होला प्रचण्ड सरकारको भविष्य ?

काठमाडौं । मंगलबार प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले दिएको विश्वासको मतले सत्तागठबन्धन दलहरूबीच अविश्वास पैदा हुने संकेत देखिएको छ ।

सत्तापक्षसँग स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसले बिनासर्त प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री प्रचण्डसँग शसंकित भएका छन् ।

ओलीकै प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डसँग संसदमा १६९ जना सांसदको समर्थन थियो । तर मंगलबार भएको प्रधानमन्त्रीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा कांग्रेससहित नेकपा एस, लोसपालगायत विपक्षी दलले मत दिएपछि एमाले झस्किएको हो । प्रधानमन्त्री प्रचण्डको भूमिकालाई लिएर कांग्रेसप्रति लक्षित गर्दै त्यसैदिन प्रतिपाद गरेका छन् ।

‘यो समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । यदि कुनै ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ त्यो जाल । दुई वर्षपछि विश्वासको मत हाल्नु नै थियो, अहिले किन हाल्नुपर्यो ? त्यो मामली कुरा हो’, संसदमा देउवातिर हेर्दै ओलीले भने, ‘यसमा कुनै कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा पर्नेवाला छैन ।’

ओलीको यो अभिव्यक्तिले नै पुष्टि गर्छ कि कांग्रेस दिएको विश्वासको मतले एमालेभित्र ठूलो भूकम्प गएको छ । १५० सिटसहित मंसिर ४ पछि ओलीको नेतृत्वमा सरकार बनाउने अभियानसहित निर्वाचनमा होमिएको एमाले चुनावी मोर्चामा असफल भयो । संघदेखि प्रदेशसम्म सत्ता गुमाउने देखिएपछि आत्तिएका ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर देउवा–प्रचण्ड गठबन्धन भत्काउन सफल भएका थिए । ओलीले जुन रणनीति अनुसार देउवा–प्रचण्ड गठबन्धन भत्काएका थिए, त्यसको विपरित देउवा सत्ताको सारथी बन्न आइपुगेपछि उनलाई यो सरकार निल्नु न ओकल्नु भएको छ । प्रचण्डलाई कमजोर प्रधानमन्त्री बनाएर राज्यसत्तामाथि एकलौटी हाबी हुन खोलेका ओलीमाथि कांग्रेसको निर्णयले ठूलै धक्का लागेको कांग्रेसका नेताहरूको अनुमान छ । विपक्षी दलकोसमेत समर्थनले भने प्रधानन्त्री प्रचण्डलाई केही राहत मिलेको छ । संसदमा विपक्षी दलको मतसहित ९९ प्रतिशत समर्थन पाउने प्रचण्ड नै नेपालको संसदीय इतिहासमा पहिलो प्रधानमन्त्री भएका छन् । संसदमा तत्काल कायम रहेका २७० सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए ।

मंसिर ४ मा भएको प्रनिधिनिसभा निर्वाचनपछि तत्कालीन देउवा–प्रचण्ड गठबन्धनले बहुमतको सरकार बनाउने तयारी गरेका थिए । १६५ निर्वाचन क्षेत्रमध्ये तत्कालीन वाम–लोकतान्त्रिक गठनन्धनले १३६ सिट जितेको थियो । प्रभु साहसहित २ स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यमा बहुमत अर्थात् १३८ सिट संख्या त्यतिबेला सत्ता पक्षसँग थियो । सीके राउत नेतृत्वको जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको चार सांसदको समर्थन पनि देउवा–प्रचण्डकै पक्षमा देखिएकाले सत्तापक्षसँग १४८ सिट पुग्ने अवस्था थियो । ओलोपालो सरकार बनाउने भद्र सहमति गर्दै निर्वाचनमा गएका देउवा–प्रचण्ड चुनावी परिणामपछि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुरा नमिल्दा प्रचण्ड ओलीसँग मिल्न गएका थिए । कांग्रेसको अपरिपक्व निर्णयका कारण संसदमा सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा पुग्यो । एमाले पक्षको हर्ताकर्ता भयो । कांग्रेससँग सम्बन्ध टुटाउन सफल भएका ओली मंगलबार संसदमा देखिएको अस्वभाविक परिदृष्यले बेचैनी बढेको देखिन्छ । एमालेमा देखिएको अविश्वास मेटाउन बुधबार गोरखा पुगेका प्रचण्ड उताबाट फर्किए लगत्तै सिधै ओलीलाई भेट्न बालकोट पुगे । बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली आफै प्रधानमन्त्री निवास बालुवाटार गए ।

सरकार बनेको १६ दिन नपुग्दै सत्ता साझेदार दलहरूबीच अविश्वासको खाडल देखिनुमा सोमबार ओलीको अभिव्यक्ति जिम्मेवार रहेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको बुझाइ ।

‘ओलीजीले अघिल्लो कार्यकालमा संविधान विपरित दुई–दुईपटक संसद विघटन गर्नुभयो । उहाँले संविधान र व्यवस्थामाथि पटक–पटक प्रहार गर्नुभयो’, उनले भने, ‘सर्वोच्च अदालतलेसमेत ओली सरकारको निर्णय गलत भनिसकेको अवस्थामा उहाँले अहिलेसम्म गल्ती महशुस गर्नुभएको छैन । संसद विघटन गर्न पाउनुपर्छ । मेरो निर्णय ठीक थियो भनेर उल्टै हामीमाथि संसदमा धम्कीपूर्ण भाषा प्रयोग गरिरहनुभएको छ । उहाँको अभिव्यक्तिका कारण हामीले विश्वासको मत दिन बाध्य भएको हो ।’

सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा ओलीले अघिल्लो पटक भएको संसद विघटनको बचाउ गर्दै संसद बाहिरबाट सरकार ढाल्ने देउवा–प्रचण्डको कदम प्रतिगामी भएको घुमाउरो शैलीमा आरोप लगाएका थिए । ओलीको अभिव्यक्तिबाट शसंकित भएका प्रधानमन्त्री प्रचण्डले देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेका थिए । प्रचण्ड–देउवाको यही भेटलाई लिएर ओलीले प्रधानमन्त्रीमाथि अविश्वास गरेका हुन् । दुई शीर्ष नेताबीचको भेटवार्तामा कुनै भद्र सहमति भएको हुनसक्ने एमाले नेताहरूको आशंका छ ।

राष्ट्रपति कांग्रेसलाई दिनेगरी प्रधानमन्त्री प्रचण्ड र देउवाबीच सहमति भएको हुनसक्ने एमालेका एक पदाधिकारीले बताए ।

‘सत्तापक्षसँग स्पष्ट बहुमत हुँदाहुँदै प्रतिपक्षले निशर्त विश्वासको मत दिने काम लोकतन्त्र र संसदीय अभ्यासमा कतै हुँदैन । विपक्षमा बस्नुपर्ने कांग्रेसलाई एकाएक विश्वासको मत दिनुपर्ने त्यस्तो बाध्यता किन भयो ?’, ती नेताले प्रश्न गर्दै भने, ‘भित्रभित्रै कुनै खिचडी पाकेको हुन सक्छ । कतै राष्ट्रपति कांग्रेसलाई दिएर एमालेलाई एक्ल्याउने चालबाजी त भएको छैन ? यदि त्यस्तो हो भने एमाले चुप लागेर बस्दैन । त्यसको डटेर सामना गर्न तयार छ ।’

एमाले नेताले आशंकालाई बल पुग्ने गरी कांग्रेसका नेता डा. शेखर कोइराले राष्ट्रपतिमा आफ्नो दाबी रहने अभिव्यक्ति दिएका छन् ।

‘सभामुख उपसभामुखको विषयमा हामीलाई मतलब छैन । त्यसबारे हामीले कुरा गरिरहेको छैन, अरु निर्वाचनहरू पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं’ बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौं ।’

प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछि राष्ट्रपति र सभामुखमा एमालेले दाबी गरेको छ । अघिल्लो पटक प्रधानमन्त्री र राष्ट्रपनि एमालेले लिएर सभामुख माओवादी केन्द्रलाई छाडेको थियो । प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीबाट हुँदा हैरानी खेपेका प्रचण्ड–देउवा योपटक त्यो गल्ती दोहोर्याउने पक्षमा छैनन् । कांग्रेसको कित्ताबाट आफ्नो कित्तामा ल्याउन सफल देखिएका ओली सत्ताको चाबी आफ्नो हातमा लिएर राष्ट्रपति र सभामुख फुत्काउने दाउमा छन् । यद्यपि कांग्रेसले सरकारको पक्षमा विश्वासको मत दिएपछि आफ्नो भूमिका खुम्चिएको महशुस ओलीले गर्न थालेका छन् । ओलीबाट जुनसुकै बेला धोका हुन सक्ने आशंकामा रहेका प्रधानमन्त्री प्रचण्ड ओलीको योजना असफल पार्न कांग्रेसलाई विश्वासमा लिएको हुनसक्ने अनुमान गरिएको छ ।

वामपन्थी नेता राधाकृष्ण मैनालीले त ओलीले दयामायाले प्रचण्डलाई प्रधानमन्त्री बनाएको नभइ आफ्नो षड्यन्त्र पुरा गर्न खेलाउना बनाएको आरोप लगाएका छन् ।

‘ओलीलाई यो संसद घाँडो भएको छ । देउवा नेतृत्वको गठबन्धन भत्काउन ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन् । ६ महिनापछि प्रचण्ड सरकार ढालेर संसद विघटन गरी मध्यावधिमा जान चाहन्छन् । त्यहि योजना अनुसार ओलीले गोटी चालेका हुन्’, मैनालीले जिकिर गरे ।राजनीतिक विश्लेषक श्याम श्रेष्ठ विपक्षी दलले सरकारलाई विश्वासको मत दिएको विश्वमा धेरै उदाहरण रहेको जिकिर गर्छन् । वर्तमान प्रधानमन्त्रीले विपक्षी दलकोसमेत समर्थन पाउनु ठूलो उपलब्धि भएको भन्दै यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएर जानुपर्ने उनको भनाइ छ ।

‘सरकारलाई विपक्षीले मत दिँदैमा लोकतन्त्र कमजोर हुँदैन, यसले झन बलियो बनाउँछ । विपक्षीले सरकारलाई विश्वासको मत दिएको विश्वका धेरै देश छन् । ओलीले विपक्षीको विश्वासको मतलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन । अब सबै मिलेर देश बनाउनुपर्छ । झगडा गर्ने होइन’, उनले भने ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रचण्ड सरकारलाई विश्वासको मत दिनुको कारण ठट्यौली शैलीमा घरजम बस्दा प्रेम टुट्यो डिभोर्स भएपछि माया बसेको उदाहरण दिए ।

सरकारलाई समर्थन गर्ने विषयमा पार्टीभित्र विवाद भएपनि निर्णयलाई सबैले मान्नुपर्ने शर्माले बताए ।

गठबन्धन तोड्न सफल भएका ओलीका कदमबाट चिढिएका कांग्रेसले सरकारालाई विश्वासको मत दिए सत्ता साझेदार दलहरूबीच अविश्वासको बिउ रोप्न सफल भएको छ । कांग्रेसको कदमबाट ओलीको सर्वसत्तावादी सोचमा नियन्त्रण भएको र प्रधानमन्त्री प्रचण्डलाई दुई वर्षसम्म सरकार चलाउन सहज भएको राजनीतिक विश्लेषकको भनाइ छ ।