NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माओवादीमा मन्त्री बन्न हानाथाप : रेखा र सुदनको सम्भावना कति ?

काठमाडौं । मन्त्रालय भागबण्डामा सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेपनि सरकारमा कसलाई पठाउने भन्ने विषयमा दलहरू आन्तरिक छलफलमा छन् ।

सत्ताको मुख्य घटक एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार मन्त्रीलाई सरकारमा पठाएको छ । तीमध्ये पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाएपनि प्रधानमन्त्रीले अन्य तीन जनाको जिम्मेवारी तोकेका छैनन् । एमालेबाट विनाविभागीय मन्त्री हुनेमा प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी मन्त्री भएका छन् ।

एमालेले ९ मन्त्रालय पाउने लगभग सहमति भएको छ । माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक पूर्वाधार योजना तथा यातायात व्यवस्थामन्त्री बनेका छन् । उसले प्रधानमन्त्रीसहित बढीमा पाँच मन्त्री पाउने सहमति भएको छ । जसअनुसार दाङ–२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्ने रेखा शर्मा मन्त्री बन्ने पक्कापक्की भएका छन् ।उनी पूर्व सामान्य प्रशासन मन्त्रीसमेत थिइन् ।

शर्माको क्षेत्रमा उपनिर्वाचन गरेर पोखरेलाई जिताउने गरी एमाले अध्यक्ष केपी ओलीले उनलाई उपराष्ट्रपति बन्न अफर गरेका थिए । ओलीको अफरलाई शर्माले ठाडै अस्विकार गरेकी थिइन् । माओवादीबाट मन्त्री बन्नेमा भोजपुरबाट तीनपटक लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सुदन किराँती रहेका छन् । किराँतीले अहिलेसम्म राज्यको कुनै पनि सुविधा लिएका छैनन् । योपटक आफू मन्त्री बन्नेमा उनी ढुक्क छन् ।

‘मन्त्री बन्नेमा मेरो योग्यता र क्षमता भएपनि पार्टीको निर्णय सर्वोपरी हुने हुँदा भन्न हतार हुनेछ’, उनले भने । केन्द्रीय सचिवालयका एक सदस्यका अनुसार किराँतीलाई मन्त्री बनाउन प्रधानमन्त्री आफै सक्रिय रहेका छन् ।

‘किराँतीजी प्रतिनिधिसभा सदस्यमा लागातार तीनपटक निर्वाचित हुनुभयो । योपटक उहाँलाई अवसर दिनुपर्छ भन्नेमा प्रधानमन्त्री नै लाग्नुभएको छ’, ती नेताले भने ।

गठबन्धन दलहरूबीच मन्त्रालय भागबण्डाबारे ठोस निर्णय नहुँदा मन्त्री छान्न समस्या देखिएको उपमहासचिव गणेश साहले बताए ।
‘मन्त्रालयको विषय टुंग्याउन प्रधानमन्त्रीज्यू र एमाले अध्यक्षबीच छलफल जारी छ । तर कसले कति मन्त्रालय पाउने भन्नेमा ठोस निर्णय हुन सकेको छैन । सायद शनिबारसम्ममा दलहरूबीच सहमति भए दुई–तीन दिनसम्ममा मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ’, उनले भने ।
माओवादीबाट मन्त्री छनोटको विषयमा आकांक्षी धेरै भएको र सिट संख्या थोरै भएकाले समस्या भएको साहले बताए ।

माओवादीबाट मन्त्री बन्न आकांक्षी देखाएकामा माओवादी चुनाव चिन्न लिएर जितेका महेन्द्रराय यादव, हितबहादुर तामाङ, माधव सापकोटा, पूर्ण घर्तीलगायत छन् । पार्टी एकताका लागि बाबुराम नेतृत्वको नेसपासँग परामर्श भइरहेकाले यादवको सम्भावना बलियो रहेको माओवादी अर्का एक नेताले जानकारी दिए ।

‘निर्वाचनअघि बाबुरामको पार्टीबाट दुई जना उम्मेदवार माओवादी चुनाव चिन्नबाट उठेका थिए । त्यसमध्ये काठमाडौं–७ बाट मानषी यमीले चुनाव हारिन्’, ती नेताले भने, ‘पार्टी एकताको सन्देश दिन पनि यादवलाई मन्त्री बनाउनुपर्ने दबाब छ । यादवलाई मन्त्री बनाउन बाबुरामजी आफै सक्रिय हुनुहुन्छ । सायद यादव नै मन्त्री बन्नुहुन्छ होला ।

माओवादीले तीनवटा मन्त्रालय पाएको खण्डमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित भएका माधवलाई मन्त्री बनाउनुपर्ने दबाब प्रचण्डलाई परेको छ । नाताले पूर्वसभामुख अग्नि सापकोटका भतिज पर्ने उनलाई मन्त्री बनाउ सापकोटाले नै दबाब रहेको ती नेताले जानकारी दिए ।