NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

तयार भयो सभामुखको निर्वाचन कार्यतालिका, तर अहिलेसम्म उम्मेदवारको टुंगो छैन

काठमाडौं । संविधान बमोजिम प्रतिनिधिसभाका सभामुखको निर्वाचनका लागि संसद सचिवालयले निर्वाचन कार्यतालिका मंगलबार प्रकाशन गर्ने तयारी गरेको छ । ५ माघमा हुने सभामुखको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको संसद सचिवालका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । तर अहिलेसम्म राजनीतिक दलले चुनावी मैदानमा उत्रिने खेलाडी चयन गर्न सकेका छैनन् ।

सत्तापक्षबाट सभामुख आलोपालो गर्ने भनिएपनि पहिलो चरणमा कसलाई बनाउने भन्नेमा एमाले र माओवादीबीच सहमति भइसकेको छैन । यद्यपि यसै विषयमा टुंगो लगाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । छलफलमा मन्त्रिपरिषद विस्तार, पद बाँडफाँट लगायत विषयमा कुरा भएपनि दुई नेताबीच भएको सहमति बाहिर आएको छैन । १० पुुसमा ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भएपछि राष्ट्रपति र सभामुख एमालेले राख्ने भद्र सहमति भएको एमालेका नेताहरूको दाबी छ । प्रधानन्त्रीलाई विपक्षी कांग्रेसले समेत विश्वासको मत दिएकाले पावर शेयरिङमा कांग्रेसलाई पनि सहभागी गराउनु पर्ने तर्क माओवादीका नेताहरूको छ । सत्ता भागबण्डा मिलाउने विषयमा प्रधानन्त्री प्रचण्डल मंगरबार सरकार समर्थित १० दलको बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्रीका सचिवालयले बताएका छन् ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचन संघीय संसदको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र गर्नुपर्ने व्यवस्था रहेको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि प्रनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । संविधान अनुसार १० माघभित्र सभामुखको निर्वाचन भइसक्नुपर्ने छ । सभामुखका लागि सत्तापक्षबाट एमालेले उम्मेदवारी दिने तयारी गरेको छ । सभामुख बन्न एमालेमा उपमहासचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, विद्या भट्टराई र रघुजी पन्तले आकांक्षा देखाएका छन् ।

प्रधानमन्त्री र सभामुखमा एमाले र माओवादीले आधा–आधा कार्यकालका लागि सहमति गरेका छन् । पहिलो चरणमा माओवादीले प्रधानमन्त्री पाएपछि सभामुखमा एमालेले दाबी गरेको छ । तर सरकारलाई समर्थन गरेकाले राष्ट्रपति र सभामुखमध्ये एक पद आफूले पाउनु्पर्ने कांग्रेसको दाबी छ । कांग्रेसको प्रस्तावप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएपनि ओली सहमत भएका छैनन् । सत्ता भागबण्डामा कांग्रेसलाई पनि समेट्न सकिए आफ्नो सरकार मझबुद हुने प्रचण्डको बुझाइ छ । कांग्रेस सरकारको हिस्सा बने राजनीतिमा आफू कमजोर भइने डर ओलीलाई छ । यसरी सत्ता साझेदार दलहरूबीच बढ्दो अविश्वासकाबीच सरकार विस्तारमा ढिलाई भइरहेको छ ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुने पर्ने व्यवस्था छ ।

के छ प्रतिनिधिसभा नियमावलीमा ?

सभामुखको निर्वाचन प्रक्रियाको सम्बन्धमा प्रतिनिधिसभा नियमावलीको दफा ७ को नियम १ मा सभामुखको निर्वाचन बठैकको अध्यक्षता गर्ने व्यक्तिले तोकेको दिनमा हुने र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्ने उल्लेख छ । उपनियम २ को १ मा प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै सदस्यलाई सभामु्ख पदमा निर्वचित गरियोस् भन्ने प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने उल्लेख छ ।

यसका लगि बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्ने कार्यतालिका छ। बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन संसदमा तत्काल कायम रहेका सदस्यहरूको मत विभाजनबाट हुने प्रवत्ता गिरीले बताए । उनका अनुसार सभामुखमा एक जना मात्रको उम्मेदवार भए सभाका जेष्ठ सदस्यले निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । दुई वा दुईभन्दा बढी उम्मेदवार भएमा सदस्यहरूको हस्ताक्षरसहति मत विभाजन हुनेछ । सभाध्यक्षले ती उम्मेदवारहरूको पक्ष/विपक्षमा मतदान गर्न निर्णयार्थ प्रस्ताव गर्ने छन् । यसरी प्रस्ताव गरिएकोमा बढी मत ल्याउने उम्मेदवारलाई जेष्ठ सदस्यले सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछन् ।