NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते
सन्दर्भ

के हो ब्ल्याक बक्स ? के गर्छ यसले ?

यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पोखरामा दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको छ । चालक दलका सदस्यसहित ७२ सवार विमानमा चढेका थप दुई जनाको अवस्था अज्ञात छ ।

विमान दुर्घटना भएको दोस्रो दिन खोजी कार्यमा जुटेका सुरक्षाकर्मीले ब्ल्याक बक्स फेला पारेका छन् । जाँचबुझका लागि गठित समितिलाई यो बक्स बुझाइने र त्यसबाट दुर्घटनाको यथार्थ विवरण बाहिर आउने अपेक्षा गरिएको छ ।

विमान दुर्घटनामा अक्सर सवार सबै मानिसको मृत्यु हुने भएकाले ब्ल्याक बक्सलाई कारण पत्ता लगाउने भरपर्दो माध्यम मानिन्छ । त्यसैले हरेक विमान दुर्घटनापछि यसको खोजी थालिन्छ ।

के हो ब्ल्याक बक्स ?

ब्ल्याक बक्स एउटा यन्त्र हो । ब्ल्याक बक्स भनिएकाले धेरैलाई यसको रङ कालो होला भन्ने लाग्न सक्छ । तर यो उज्यालो सुन्तला रङको हुन्छ । दुर्घटनाग्रस्त भएर विमानका पार्टपुर्जा यततत्र छरिएको अवस्थामा पनि देख्न सकियोस् भन्ने उद्देश्यले यो बक्समा यस्तो रङ प्रयोग गरिएको हो ।

यसले जहाजको उडान डाटा र ककपिट भ्वाइस कम्युनिकेसन रेकर्ड गर्छ । सञ्चालनमा रहेको अन्तिम समयमा विमानको स्थिति, त्यसले लिएको उचाइ, तापमान, गति, इन्धनको मात्रा, अटो पाइलटिङको स्थिति यसबाट पत्ता लगाउन सकिन्छ । अर्थात् यसले सम्पूर्ण विवरण रेकर्ड गरिरहेको हुन्छ ।

यसमा दुई भाग हुन्छन् । एउटा छ, फ्लाइट डाटा रेकर्डर (एफडिआर) । र अर्को छ, ककपिट भ्वाइस रेकर्डर (सिभिआर) ।

यसमध्ये एफडिआर निकै महत्त्वपूर्ण मानिन्छ । महत्त्वपूर्ण यस अर्थमा कि यसले जहाजको गति, उचाइ, हेडिङदेखि विमानको अवस्थासम्मको जहाजको उडान मार्ग र दुर्घटनाको अवस्थामा पाइलटहरूको अवस्था र तिनले गरेको गतिविधि बुझ्नु यसको मूल उद्देश्य हो । जानकारहरूका अनुसार, यस्तो रेकर्ड दुर्घटनामा परेको विमानको कारण पत्ता लगाउन निकै सहयोगी हुने गरेका छन् ।

सिभिआरले चाहिँ ककपिटबाट अडियो रेकर्ड गरेको हुन्छ । दुर्घटनाको समयमा चालक दलका सदस्यबीच भएको कुराकानी रेकर्ड हुने भएकाले यो अनुसन्धानमा फलदायी हुने गरेको छ ।

नेपालमा पनि विमान दुर्घटनापछि भेटिएको ब्ल्याक बक्स अध्ययन हुने गरेको छ । दुर्घटना न्यूनीकरणका निम्ति यस्ता ब्ल्याक्स बक्सको अध्ययन सहयोगी सिद्ध हुने भए पनि अधिकांश घटनामा मृत्यु भइसकेका चालक दलका सदस्यलाई जिम्मेवार ठहरर्याउने गरिएको छ । हरेक दुर्घटनाको कारण लगभग एउटै देखाइने गरेकाले कतै छानबिन समिति प्रभावित भएर सही विवरण सार्वजनिक गर्न चुकेको त होइन ? निरन्तर उठ्दै आएको यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ ।