NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सांसद बन्न मदनको प्रस्ताव अस्वीकार गरेका प्रस्तावित सभामुखका उम्मेदवार घिमिरे को हुन् ?

काठमाडौं । सत्ता गठबन्धनबाट सभामुखमा प्रस्तावित उम्मेदवार देवराज घिमिरेले सभामुख बन्ने लगभग पक्का भएका छन् । नयाँ बानेश्वरस्थित संसद सचिवालयमा बुधबार उनले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उनलाई सभामुख बनाउन एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले प्रस्ताव गरेका छन् । नेम्बाङको प्रस्तावलाई सत्ता साझेदार दल एमाले, माओवादी, रास्वपा, राप्रपालगायत दलहरूले समर्थन गरेका छन् ।

घिमिरेको पक्षमा सत्ता साझेदार दल एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाहेक १३, जसपाको १२, जपाको ६ र नाउपाको ४ गरी १६६ सांसद रहेका छन् ।

सत्ता भागबण्डामा असन्तुष्ट रहेकाले जसपा, जपा र नाउपाले उनको पक्षमा मतदान गर्ने/नगर्ने वा तटस्थ बस्नेबारे कुनै निर्णय गरेका छैनन् । यदि उनीहरूले मतदान नगरे पनि घिमिरेको पक्षमा स्पष्ट बहुमत रहेकाले संसदको अंकगणितबाट उनको जित सुनिश्चित देखिएको छ । सभामुखको निर्वाचन बिहीबार हुँदैछ । घिमिरेको प्रतिस्पर्धामा विपक्षी दल कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । यसका लागि उसले सरकार बाहिर रहेका दलहरूबीच परामर्श गरिरहेको छ ।

परामर्शपश्चात सत्ता दलहरूको सत्ता बाहिर रहेका दलहरूसँग छलफलपछि कांग्रेस सांसद् इश्वरी न्योपानेलाई सभामूखको उम्मेदवार बनाएका छन् ।

को हुन् सभामुखमा प्रस्तावित उम्मेदवार घिमिरे ?

वि.सं. २०१३ साल जेठ १३ गते ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा घिमिरेको जन्म भएको थियो । गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट उनले विद्यालय शिक्षा प्रारम्भ गरेका थिए । ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट ०२९ सालमा एस.एल.सी उत्तीर्ण गरेका थिए । उनले धरानको महेन्द्र बहुमुखी क्याप्पस आइ.ए. र काठमाडौंको त्रि–चन्द्र  कलेजबाट स्नातक अध्ययन गरेका छन् ।

०३१ सालमा झापा विद्रोहपछि वामपन्थी राजनीतिमा लागेका घिमिरे ०३२ देखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)को विद्यार्थी संगठनमा लागेका हुन् । त्यतिबेला बुर्जुवा शिक्षाविरूद्ध अभियान सञ्चालन गरेका उनले २०३५ सालमा नेकपा मालेको सदस्य भएका थिए । २०३५ पुष ११ गते पुनर्गठित कम्युनिस्ट पार्टी मालेको संगठक भएर ताप्लेजुङ र तेह्रथुमा काम गरे ।

२०३६ देखि २०४६ सम्म कठिन भूमिगत जीवन बिताएका घिमिरे २०४९ सालमा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भए । २०४८ मा भएको प्रतिनिसभा सदस्यमा तत्कालीन महासचिव मदन भण्डारीले उम्मेदवा बन्न गरेका प्रस्ताव उनले अस्वीकार गरेका थिए । उनी २०५० मा मेची अञ्चल इन्चार्ज, २०५८ मा पार्टीको केन्द्रीय विभागहरूको इन्चार्जको जिम्मेवारी पाएका थिए । पार्टीभित्र अध्यक्ष केपी ओली र वर्तमान राष्ट्रपतिसमेत रहेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको विश्वास पात्रका रुपमा उनी चिनिन्छन् । २०५६ सालमा घिमिरे राष्ट्रिय सभा सदस्य निर्वाचित भए ।

२०७१ सालको नवौँ राष्ट्रिय महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित भएपछि उनको अवसरको ढोका खुल्दै गएको छ । ओलीकै रोजाईमा उनले २०७४ मा सचिवालय प्रमुख भएर काम गर्ने मौका पाए । २०७५ एमाले र माओवादीबीच पार्टी एकता भइ बनेको नेकपाको प्रदेश १ को अध्यक्ष भए । ०७८ मा भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भए । हाल अर्जुनधारा नगरपालिका–६ झापाका स्थायी बासिन्दा रहेका उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् । झापा विद्रोहमा तत्कालीन शासकबाट सुखानी जंगलमा मारिएका सहीद स्मृति प्रतिस्ठानका अध्यक्षसमेत हुन् ।

एमालेमा कम अवसर पाएका नेतामध्ये घिमिरे पनि एक हुन् । पार्टीभित्र उनलाई इमान्दार, सादकी र वौद्धिक नेताका रुपमा चिनिन्छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २८ हजार ७ सय १६ मत ल्याउदै झापा–२ बाट निर्वाचित भए । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका हुन् ।

सत्ता भागबण्डामा गठबन्धनबाट एमालेले सभामुख पाएको थियो । सभामुखमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्तले आकांक्षा देखाएका थिए । तर ओलीले सभामुखमा प्रस्ताव गरेपछि सभामुख बन्ने बाटो खुलेको छ ।

बिहीबार हुने सभामुखको निर्वाचनमा घिमिरे निर्वाचित भए संघीय गणतन्त्र स्थापनापछिको  उनी पाचौं सभामुख हुनेछन् । सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएमा उनले विपक्षी दलकोसमेत विश्वास जितेर तटस्थता देखाउन चुनौती छ ।