NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पार्टीको जिम्मेवारी मागेका गजुरेल प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका हरिबोल गजुरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको सोमबार उनले जानकारी दिएका छन् । पूर्वकृषिमन्त्रीसमेत रहेका उनी सिन्धुलीका हुन् । उनी २०६४, २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लगातार निर्वाचित सांसद हुन् ।

मंसिर ४ मा भएको निर्वाचनमा टिकट नपाएका उनी प्रचण्डसँग असन्तुष्ट रहँदै आएका गजुरेलले असहमति पत्र माओवादी पार्टी कार्यालयमा बुझाएका थिए । उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रचण्डले मन्त्री सरह सेवा सुविधा लिने गरी प्रमुख राजनीतिक सल्लाहकार बन्न प्रस्ताव गरेका थिए । तर प्रचण्डसँग भेटको क्रममा उनले सल्लाहकार भन्दा पनि पार्टीको जिम्मेवारी दिन आग्रह गरेका थिए ।

‘मलाई प्रधानमन्त्रीको सल्लाहकार बन्न केही आपत्ति होइन । अध्यक्षज्यू प्रधानमन्त्री भएकै भोलिपल्ट मलाई बोलाएर राजनीतिक सल्लाहकार बन्न आग्रह गर्नुभएको थियो’, नेपालवाचसँग उनले भने, ‘पार्टी लथालिङ्ग भएको छ । पार्टी बलियो नभएसम्म सरकार बलियो हुन सक्दैन । तपाईं सरकार चलाउनोस् । पार्टीको जिम्मा मलाई दिनोस् भनेको थिएँ ।’

यसअघि प्रधानमन्त्री प्रचण्डले प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरेका छन् । स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति गरिसकेका छन् । पार्टीभित्र शितलकुमारले चिनिने गजुरेल २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् । नेकपका मसाल हुँदै उनी २०५२ सालमा माओवादी जनयुद्धमा होमिएका नेता हुन् । उनले प्रचण्डलाई आलोचनात्मक रुपमा समर्थन गर्दै आएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष