NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ईसेवा १५औं वर्षमा प्रवेश, वार्षिक उत्सवको अवसरमा सात घण्टे अफर सार्वजनिक

काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘ईसेवा’ १४ वर्ष पुरा गरेर १५ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ देखि ईसेवाले आफ्नो सेवा सुरु गरेको थियो ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ईसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ईसेवा जहिलेपनि प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने गरेको बताए । उनले भने,’हामी जहिले पनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ । आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ ।’

ईसेवाका प्रमुख म्यानेजर आशिष गौतमले ईसेवाले वार्षिक उत्सवमा सार्वजनिक गरेका योजनाहरुको विषयमा जानकारी गराएका थिए ।

वार्षिक उत्सवको अवसरमा ईसेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट ईसेवामा लिंक गरेमा १४० क्यासब्याक पाइनेछ । यसैगरी बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार पाउनेछन् । यसैगरी ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ ।

यसैगरी १२ बजेदेखि १ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु निशुल्क प्राप्त गर्न सकिनेछ । यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ । यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ । यस अवधिमा मोबाइल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टिभिको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

ईसेवाले आफ्नो वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको जनाएको छ । यसको राशी र प्रक्रियाका विषयमा केही समय पछि एक कार्यक्रम मार्फत जानकारी गराउने इसेवाको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१४ वर्षको अवधिमा ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको जनाएको छ ।