NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपालका नौ सभामुख : सन्त नेतादेखि, विद्रोही महिला लडाकुसम्म

काठमाडौं । २००७ सालमा जहानियाँ राणा शासनको अन्त्यपछि २०१५ सालमा पहिलो पटक प्रतिनिधिसभाको निर्वाचन भयो । नेपालको संसदीय प्रजातन्त्रको जननी मानिएको २०१५ को प्रनिधिसभाको पहिलो बैठक १६ असार, २०१६ मा बसेको थियो ।

यसै दिनलाई संसदले हालसम्म प्रत्येक वर्ष संसद दिवसको रूपमा मनाउँदै आएको छ । संसदको पहिलो सभामुख कृष्णप्रसाद भट्टराई भएका थिए । तर जननिर्वाचित पहिलो संसदले आफ्नो कार्यकाल पुरा नगरी तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ मा संसदीय व्यवस्थालाई अपदस्थ गरी सोही महिनाको २२ गते पञ्चायती व्यवस्था लागु गरे ।

त्यसयता प्रतिनिधिसभाको ८ औं पटक निर्वाचन भइसकेको छ । अहिलेसम्म प्रतिनिधिसभाले ९ जना सभामुख पाइसकेका छन् । संसदको ६४ वर्ष लामो इतिहासमा २०१५, २०४८, २०५१, २०५६ गरी चार पटक संवैधानिक राजतन्त्रात्मक संसदीय निर्वाचन भयो ।

२०६२/०६३ दोस्रो जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गरी मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि २०६४ र २०७० मा दुई पटक संविधानसभाको निर्वाचन भयो । यहि संविधानसभाले नै संसदको भूमिका निर्वाह गर्यो । ३ असोज, २०७२ मा संघीय गणतन्त्रको नयाँ संविधान जारी भएपछि २०७४ र २०७९ मा संघीय प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको छ ।

यसरी २०१५ देखि २०७९ सम्म प्रतिनिधिसभाले ९ जना सभामुख पाएका छन् । तीमध्ये चार जान नेपाली कांग्रेसबाट भएका छन् । पाँच जना कम्युनिस्ट पृष्ठभूमिबाट सभामुख निर्वाचित भएका छन् ।

गणतन्त्र स्थापनापछि कांग्रेसबाट एक जनापनि सभामुख भएका छैनन् । २०१५ देखि २०६१ सम्म कांग्रेसबाट निर्वाचित सभामुखमा कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट रहेका छन् । कांग्रेसबाट सभामुख हुनेमध्ये भट्टराईमात्र नेपालको प्रधानमन्त्री बन्न सफल भएका छन् ।

कम्युनिस्ट पृष्ठभूमिबाट सभामुख भएकाहरूमा सुवासचन्द्र नेम्बाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र देवराज घिमिरे छन् । यीमध्ये नेम्बाङ र घिमिरे एमालेका हुन् भने घर्ती, महरा र सापकोटा माओवादी केन्द्रका हुन् ।

नेपालको संसदीय इतिहासमा घर्तीले पहिलो महिला सभामुखको कीर्तिमान कायम गरेकी छिन् । संविधानसभा अध्यक्षसमेत बन्न पाउने भाग्यशाली व्यक्ति नेम्बाङ भएका छन् । सभामुखमा सबैभान्दा विवादित व्यक्तिमा महरा र सापकोटा रहेका छन् ।

जनप्रतिनिधिमार्फत् जनताको आवाज बुलन्द गर्ने र राज्यलाई आवश्यक पर्ने ऐन, नियम बनाउने थलो संसद हो । प्रजातान्त्रिक मुलुकमा संसदलाई प्रतिक्षको ‘प्लेटफर्म’को रूपमा लिइन्छ । प्रतिनिधिभाको नेतृत्व गर्ने सभामुखले सत्तापक्ष र प्रतिपक्षबीच समन्वय गरी ऐन, कानुन बनाउन सरकारलाई झकझकाउन प्रमुख भूमिका खेल्ने गर्छन् । सांसदहरूलाई अनुशासनमा राख्ने र सरकारलाई निरंकुश बन्न नदिन सभामुखको अत्यन्तै ठूलो भूमिका रहन्छ । संसदको गरिमालाई बचाइ राख्न सभामुखको आचरण, उसको व्यवहार निष्पक्ष र पारदर्शी हुनु जरूरी छ ।

नेपालको संसदीय इतिहास अन्य मुलुकको तुलनामा धेरै लामो छैन । त्यसमापनि शासकको शनकको भरमा बीच–बीचमा धेरै पटक संसद विघटन भएको दुःखदायी इतिहास साक्षी छ ।

यहाँ २०१५ देखि २०७९ सम्म सभामुख भएका ९ जना व्यक्तित्वमध्ये संसदको मर्यादा र गरिमालाई कायम राख्न कसले कति भूमिका खेले भन्ने सम्बन्धाम संक्षीप्त जानकारी गराउनु वाञ्छनिय देखिन्छ ।

कृष्णप्रसाद भट्टराई

नेपालको पहिलो सभामुख स्व.कृष्णप्रसाद भट्टराई हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी सन्त, शालिन नेताको रूपमा परिचित छन् । २०१५ मा ४५ दिन लामो समय लगाएर भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०९ निर्वाचन क्षेत्रमध्ये ७४ सिट अर्थात् दुईतिहाइ बहुमत ल्याएको थियो । २०१६ मा उनी प्रतिनिधिसभाको पहिलो सभामुखमा निर्वाचित भएका थिए ।

सँधै हँसिलो मिजास, ठट्यौलो पारा प्रस्तुत हुने भट्टराई आफ्ना नजिककाले किशुनजी भनेर बोलाउँथे । प्रजातन्त्रप्रतिको निष्ठाबाट कहिल्यै विचलित नभएका उनी दुई पटक प्रधानमन्त्री बनेपनि बेदाग रहनसक्नु नै उनको विशेषता हो ।

जननिर्वाचित संसद्का सभामुख भट्टराईले संसद्मा पारदर्शी र गहन छलफल गराएको, सांसद र संसद्को गरिमालाई उच्च राखेकोले नागरिक अगुवा दमननाथ ढुंगानाको बुझाइ छ ।

संसद्को मर्यादा र गरिमाका लागि भट्टराईबाट पाठ सिक्नुपर्नेमा उनले जोड दिएका छन् । प्रजातन्त्र स्थापनका लागि १०४ वर्ष लामो जहानियाँ राणाशासन र ३० वर्षे पञ्चायती निरंकुशतकाविरुद्ध लडेका भट्टराई जीवनको उत्तरार्धमा भने संवैधानिक राजतन्त्रको पक्षमा उभिए ।

वि.सं. २०८१ मा भारतको बनारसमा जन्मिएका भट्टराई २०४७ र २०५६ मा गरी दुई पटक मुलुकको प्रधानमन्त्री भए । हालसम्म सभामुख भएकामध्ये प्रधानमन्त्री बन्ने उनी एक नेता हुन् । २०४७ को संविधान उनकै नेतृत्वमा जारी भएको थियो । उनी प्रधानमन्त्री रहेकै अवस्थामा २०४८ को निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए । भट्टराई एक कुशल पत्रकार पनि हुन् । साथै उनी सोभियत संघका कम्युनिष्ट पार्टीकी महासचिव निकिता सरगेयेभिच ख्रुस्चेभको अन्तर्वार्ता लिने प्रथम विदेशी पत्रकार थिए ।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको ‘सेन्स अफ ह्युमर’ उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।

उनी आजीवन अविवाहित रहे । सन्त प्रवृत्तिको भएकाले गर्दा केहीले यिनलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन् । अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्दथे । २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा यिनी हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केका थिए ।

तर कांग्रेसका पूर्वसभापतिसमेत रहेका उनी कांग्रेसभित्रको राजनीति खिचातानिको पटक–पकट शिकार बन्न पुगे । कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिएर ललितपुरको बाँडेगाउँस्थित आश्रममा सादगी जीवन विताए । २० फागुन, २०६७ मा उनको निधन भएको थियो ।

दमननाथ ढुंगाना

किशुजीका अनुयायी दमननाथ ढुंगाना नेपालका दोस्रो सभामुख तथा २०४६ को प्रजातन्त्र पुनस्र्थापना पछिको पहिलो सभामुख हुन् । काठमाडौंमा जन्मिएका ८१ वर्षीय ढुंगाना नेपाल बारका पूर्वअध्यक्ष हुन् ।

२०४८ मा काठमाडौंबाट निर्वाचन जितेका उनलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले मन्त्री बनाउने प्रस्ताव अस्वीकार गरेका थिए । इमान्दारिता र निष्ठाको राजनीतिज्ञ, अधिवक्ता र मानवअधिकारकर्मीका रूपमा उनी परिचित छन् ।

२०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख भएका उनी सफल सभामुखमा परिचित छन् । सभामुख पदमा बहाल रहँदा तटस्थताको राम्रो प्रभाव छाड्न उनी सफल भएको देखिन्छ । त्यो बेला आफूबाहेक दोस्रो व्यक्ति सभामुख भएको भए वामपन्थीहरू प्रति त्यत्तिको उदार र सहनशील हुननसक्ने उनको तर्क छ । उग्र वामपन्थीको नेतृत्व गरेको एमाले, जनमोर्चा जस्ता दलहरूलाई संसदीय व्यवस्थाप्रति आस्था जगाउन आफूले महत्वपूर्ण भूमिका खेलेको उनी दाबी गर्छन् । तर कांग्रेसभित्रको शक्ति संघर्ष, पेलाइबाट उनी पनि अछुतो रहने सकेनन् । किशुनजी जस्तै उनी पनि कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिएर नागरिक अगुवा बने ।

०१७ सालमा ‘कू’ नभएको भए आफू राजनीतिमा नआउने उनको जिकिर छ । ०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि त्यसविरुद्ध म प्रजातान्त्रिक आन्दोलनमा होमिएको उनी बताउँछन् । कला, साहित्य, संस्कृति, पत्रकारिता, लेखन, अनुसन्धानमा विशेष रुचि राख्ने गर्छन् । उनी ०५१ को निर्वाचनमा काठमाडौं–२ र २०७४ को निर्वाचनमा भक्तपुर–२ बाट पराजित भए ।

रामचन्द्र पौडेल

रामचन्द्र पौडेल प्रतिनिधिसभाका तेस्रो सभामुख हुन् । प्रजातान्त्रिक पटक–पटक गरी १३ वर्ष जेल जीवन बिताएका नेताका रुपमा चिनिन्छन् । उनी २०५१ देखि २०५६ सम्म सभामुख भएका थिए । उनी निकट रहेर चिन्नेहरूले पौडेललाई बीपीका अनुयायी भएको मान्छन् । उमेरले ७८ वर्ष पार गरेका पौडेल २०४८ देखि निरन्तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५१ र २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ पबाट विजय हासिल गरेका थिए । तनहूँ क्षेत्र नं.२ बाट संविधानसभामा विजयी भएका थिए । २०७४ मा भएको निर्वाचनमा तनहुँ–१ बाट पराजित भएका थिए । मंसिर–४ मा भएको निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भए ।

उनी बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका थिए । अध्ययनमा विशेष रुचि राख्ने पौडेलले प्रजातान्त्रिक समाजवादबारे निरन्तर वकालत गर्दै आएका छन् । पौडेल २०४८ देखि पटक–पटक मन्त्री उपप्रधानमन्त्री भएका छन् । उनले कांग्रेस संसदीय दलको नेता तथा कार्यबहाक सभापतिको भूमिका निर्वाह गरेका छन् । २०६७ मा देशको प्रधानमन्त्री बन्न चाहेका पौडेल तत्कालीन संसदीय अंकगणितका कारण सफल हुन सकेन् । निर्वाचनपछि देउवा–प्रचण्ड गठबन्धनको सहयोगमा राष्ट्रपति बन्न चाहेका थिए । तर एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएपछि राष्ट्रपति हुने बाटो लगभग बन्द भएको छ ।

तारानाथ रानाभाट

सक्रिय राजतन्त्र कालमा कांग्रेसबाट सभामुख हुने तारानाथ रानाभाट अन्तिम सभामुख हुन् । प्रतिनिधिसभाको ४ औं सभामुख रहेका उनी २०५६ देखि २०५९ सम्म सभामुख भए । आफूलाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद पक्षधर रहेको दाबी गर्दै आएका रानाभाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको अनुयायी भएको दाबी गर्छन् । त्यही बाटोमा हिडेकाले नै कांग्रेसभित्र आफू पछि परेको उनको जिकिर छ ।

उनी सभामुख रहेकै बेला २०५८ जेठ १९ राजदरबारभित्र अकल्पनीय दरबार हत्याकाण्ड भएको थियो । सो हत्यकाण्डमा राजा वीरेन्द्रसहित १० जना राज परिवार सदस्यको निधन भएको थियो । तत्कालीन सरकारले सर्वोच्चका प्रधानन्यायाधीश केशवनाथ उपाध्यायको नेतृत्वमा दुई सदस्य छानबिन समिति गठन गरेको थियो । सोही समितिमा रानाभाटसहित तत्कालीन प्रतिनिधिसभाका विपक्षी दलका नेता माधव नेपाललाई सदस्य थिए । तर नेपाल छानबिन समितिमा बस्न अस्वीकार गरेपछि दुई सदस्यले प्रतिवेदन बुझाएको थियो । त्यतिबेला पत्रकार सम्मेलनमा उनले दिएका अभिव्यक्ति र हाउभाउ निकै चर्चाको विषय बनेको थियो ।

दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले २०५९ असोज १८ मा देउवा नेतृत्वको अपदस्त गरेपछि उनी दरबार निकट भएका थिए । राजाको प्रत्यक्ष शासनकालमा उनले सभामुखबाट राजीनामा दिएका थिए । राजीनामापछि राजा ज्ञानेन्द्रले आफूलाई सभामुख बन्न प्रस्ताव गरेपनि अस्वीकार गरेको उनको जिकिर छ । त्यसयता रानाभाट कांग्रेसको सक्रिय राजनीतिबाट अलग रहेका छन् ।

सुवासचन्द्र नेम्बाङ

एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङ गणतन्त्र नेपालका पहिलो सभामुख हुन् । उनी संविधानसभाका अध्यक्षसमेत हुन् । संसदीय इतिहासमा एकैपटक संविधानसभा अध्यक्ष र सभामुखको भूमिका निर्वाह गरेर उनले इतिहास रचेका छन् । लामो समय कानुन व्यवसायी रहेका उनी एक कुशल र अनुभवि सभामुखका रूपमा परिचित छन् । नेम्बाङ २०५१ देखि इलाम–२ बाट लगातार निर्वाचित हुँदै आएका छन् । २०६२÷०६३ को दोस्रो जनआन्दोलनबाट २४० वर्ष लामो राजतन्त्र ढलेपछि २०६३ को अन्तरिम संसदको उनी सभामुख चुनिएका थिए । नेम्बाङ कम्युनिस्ट पृष्ठभूमिबाट सभामुख भएका पहिलो नेता हुन् ।

उनी २०६४ र २०७० को संविधानसभा अध्यक्षसमेत भए । पटक–पटक गरी ८ वर्ष लामो समय उनी सभामुखको भूमिकामा रहे । जनजाति पृष्ठभूमिबाट आएका नेम्बाङ मिजासिला र चतुर नेतामा गनिन्छन् । धेरैले उनलाई एमालेबाट भावी राष्ट्रपतिको रुपमा हेरेका छन् । उनकै नेतृत्वमा २०७२ मा नयाँ संविधान जारी भएको थियो । सभामुख र अध्यक्षको हैसियतले संविधान बनाउन उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । ०७२ को संविधान जारी भएपछि नेम्बाङले राजीनामा दिएका थिए ।

ओनसरी घर्ती

ओनसरी घर्ती नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन् । उनी नेपालको पहिलो महिला सभामुख हुन् । २०७२ को संविधान जारी भएपछि रुपान्तरित संसदमा उनी माओवादी केन्द्रबाट सभामुख भएकी थिइन् ।

माओवादी जनयुद्धको क्रममा पूर्वी नेपाल र राजधानी वरपरका काभ्रे, रामेछापमा बिताएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गरेकी थिइन् ।

रोल्पाको जंकोट –१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मेकी घर्तीे २०४६ साल देखि वामपन्थी राजनीतिमा लागेकी हुन् । गएको प्रतिनिधिसभा सदस्यमा काठमाडौं–२ बाट उनी पराजित भएकी हुन् । उनले २०७२ देखि ०७४ सम्म नेपालको ८ औं सभामुख भइन् ।

कृष्णबहादुर महरा

माओवादीका उपाध्यक्षसमेत रहेका कृष्णबहादुर महरा ९ औं सभामुख हुन् । उनी २०७४ देखि २०७६ सम्म सभामुख भए । संविधान जारी भएपछि संघीय संसदको उनी पहिलो सभामुख हुन् । वामपन्थी गठबन्धनले संघदेखि प्रदेशसम्म अत्याधिक बहुमत ल्याएपछि प्रधानमन्त्री र राष्ट्रपति एमालेको भागमा परेको थियो सभामुख माओवादीले लिएको थियो ।

माओवादीभित्र इमान्दार नेताका छवि बनाएका महरा संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले २०७६ असोजमा राजीनामा दिएका थिए । वाहालवाला सभामुख नै बलात्कार आरोप लागेको नेपालको इतिहासमा पहिलो घटना हो । यद्यपि जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको छ ।

रोल्पाको निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा २०३६ देखि वाम राजनीतिमा लागेका हुन् । उनी २०४८ को निर्वाचनमा रोल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५१ को निर्वाचन बहिस्कार गरी २०५२ देखि भूमिगत भए । उनी सरकारसँगको शान्ति वार्तामा माओवादीबाट वार्ता समिति सदस्यसमेत हुन् । माओवादीबाट पटक–पटक अवसर पाउने नेतामध्ये महरा एक हुन् ।

अग्निप्रसाद सापकोटा

सभामुख पदबाट महराले राजीनामा दिएपछि माओवादी केन्द्रले पूर्वमन्त्रीसमेत रहेका सापकोटालाई सभामुख बनाएको थियो । करिब ३ वर्ष सभामुखको भएका उनको कार्यकाल त्यति सुखद रहन सकेन । सापकोटाकै कार्यकालमा दुइ पटकसम्म संसद विघटन भयो । तत्कालीन ओली सरकारको विरुद्धमा उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । विवादास्पद एमसिसीको विपक्षमा रहेका सापकोटा अन्त्यमा संसदबाट पारित गराउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै उनी थप विवादमा तानिए । सभामुख सापकोटाले एमाले विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको आरोप लगाउँदै विपक्षी दलले ९ महिनासम्म संसद अवरुद्ध गरे ।

माओवादी जनयुद्ध कालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न रहेको आरोपमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको छ । सापकोटाविरुद्ध अर्जुनका पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेका थिए ।

२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए । माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए ।

सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ फागुन २४ मा जन्मेका सापकोटा प्रचण्डका नजिकका नेता मानिन्छन् । २०६४, २०७० र २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी योपटक निर्वाचनमा भाग नलिने घोषणा गरे । उनको निर्वाचन क्षेत्रबाट उनका भतिजा माधव सापकोटा निर्वाचित भएका छन् ।

देवराज घिमिरे

प्रतिनिधिसभाले ५ माघमा ११ औं सभामुखको रुपमा एमाले स्थायी समिति सदस्य देवराज घिमिरे निर्वाचित भए । सत्ता पक्षबाट उम्मेदवार रहेका घिमिरेलेको पक्षमा १६७ र विपक्षमा १०० मत परेको थियो ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।

०३१ सालमा झापा विद्रोहपछि वामपन्थी राजनीतिमा लागेका घिमिरे पार्टीभित्र इमान्दार र अनुभवि नेताको रूपमा परिचित छन् । २०३६ देखि २०४६ सम्म कठिन भूमिगत जीवन बिताएका घिमिरे २०४९ सालमा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भए । २०४८ मा भएको प्रतिनिसभा सदस्यमा तत्कालीन महासचिव मदन भण्डारीले उम्मेदवा बन्न गरेका प्रस्ताव उनले अस्वीकार गरेका थिए ।

२०५६ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका उनी राजकीय पदमा कम अवसर पाउने नेतामध्ये एक हुन् । तर महाकाली सन्धि पारित गर्न मुख्य भूमिका निर्वाह गरेको घिमिरेमाथि आरोप छ । मंसिर ४ मा भएको निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । एमालेभित्र उनी अध्यक्ष ओलीको विश्वासिलो पात्रको रुपमा चिनिन्छन् । सभामुखमा निर्वाचित भएपछि संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाईसमेत विश्वासमा लिएर संसदको गरिमालाई कायम राख्नु उनका लागि चुनौती देखिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष