NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

यो वर्ष विश्वभर गहिरो मन्दी देखिने, ठूला अर्थतन्त्र भएका मूलुकहरू थप प्रभावित हुने

काठमाडौं । यो वर्ष  विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ ।

यसभन्दा अघि विश्व बैंकले पनि विश्वभर गहिरो मन्दी देखिने प्रक्षेपण गरेको थियो । यद्यपि विश्व बैंकले सार्वजनिक गरेको रिर्पोटभन्दा आईएमएफको रिर्पोटले अर्थतन्त्र केही सुधार हुने देखाएको छ ।

आईएमएफका रिर्पोटअनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसभन्दा अघि विश्व बैंकको रिर्पोटले विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने  अनुमान गरेको थियो ।

आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने सुधार हुने छ । सन् २०२४ आर्थिक वृद्धिदर ३.१ प्रतिशत वृद्धिदर हुने अनुमान गरेको छ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४ प्रतिशत थियो ।

आईएमएफका अनुसार यो वर्ष ठूला अर्थतन्त्र भएका मूलुकहरू थप प्रभावित हुने भएका छन् । अमेरिकाको वृद्धिदर यस वर्ष १.४ प्रतिशत, युरोपको औसतः शून्य दशमलव ७ प्रतिशत मात्र रहने आईएमएफको प्रक्षेपण छ ।

त्यस्तै मध्यपूर्वी एसियाको अर्थतन्त्र ३.२ प्रतिशत र  एसियाका विकाससिल मुलुकहरुको अर्थतन्त्र ५.३ प्रतिशत वृद्धि हुने देखिएको छ ।

यसभन्दा अघि विश्व बैंकले सार्वजनिक गरेको रिर्पोटअनुसार मन्दीको असर विशेषगरी गरिब देशहरू बढी प्रभावित हुने देखाएको थियो । यी देशहरूमा सन् २०२३ र २०२४ मा प्रतिव्यक्ति आय १.२ प्रतिशत मात्रै बढ्ने विश्व बैंकले प्रक्षेपण गरिएको थियो ।

आईएमएफका अनुसार भारतमा ६.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यस्तै पाकिस्तानमा ३.५ प्रतिशत, बंगलादेशमा ६ प्रतिशत, भुटानमा ४.३ प्रतिशत, माल्दिभ्सले ६.१ र श्रीलंकामा माइनस ३ प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ ।

आईएमएफका अनुसार नेपालले यो वर्ष ५ प्रतिशत र्थिक वृद्धिदर प्राप्त गर्ने अनुमान गरेको छ  । जुन विश्व बैंकले सार्वजनिक गरेको रिर्पोटसँग मिल्दो छ । विश्व बैंककोले पनि नेपालले ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरेको थियो ।

विश्व अर्थतन्त्रमा संकटको घण्टी, गरिब देश थप प्रभावित हुने विश्व बैंकको प्रक्षेपण

मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने आइएमएफले प्रक्षेपण गरेको छ ।

सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ ।

विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति शृङ्खला, महङ्गो उत्पादन लागत, ऊर्जा तथा खाद्य सङ्कटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोभिड महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आइएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कोभिड महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीतिदर औसत तीन दशमलव पाँच प्रतिशत बराबर मात्रै थियो । तर पछिल्ला वर्षहरुमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा नौ दशमलव नौ प्रतिशतसम्म पुगेको छ । चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरु बढी प्रभावित भएको आइएमएफले जनाएको छ ।

ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकहरुमा सन् २०२२ मा औसत सात दशमलव तीन प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा चार दशमलव ६ प्रतिशत रहने अनुमान छ ।

उदाउँदो अर्थतन्त्र र विकासशील मुलुकहरुमा सन् २०२२ मा नौ दशमलव नौ प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर सन् २०२३ मा आठ दशमलव एक प्रतिशत रहने प्रक्षेपण छ ।

त्यस्तै, न्यून आय भएका र कम विकसित मुलुकहरुमा सन् २०२२ मा १४ दशमलव दुई प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर आठ दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।