NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

लैनचौर निवासमा सर्न किन मानेनन् सभामुख ?

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित सभामुख निवासमा बस्न अस्वीकार गरेका छन् । बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बस्न थालेपछि तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले लैनचौरस्थित सरकारी निवासमा कार्यकाल पूरा गरेका थिए । घिमिरेले लैनचौर सर्न नमानेपछि सरकार बालुवाटारमा सरकारी आवासको व्यवस्थापनमा जुटेको छ ।

सापकोटापछि सभामुख भएका घिमिरेले लैनचौरस्थित सरकारी निवासमा बस्न अस्वीकार गरेका हुन् । बालुवाटारभित्र व्यवस्थापन नहुँदासम्म लैनचौर आवास सरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहरी विकासमन्त्री विक्रम पाण्डेले गरेको अनुरोध नमानेका घिमिरे निर्वाचित भएको दिनदेखि लोकन्थलीस्थित आफन्तको घरमा बसिरहेका छन् ।

५ माघमा सभामुख निर्वाचित भएका घिमिरेका लागि संसद् सचिवालयले लैनचौरस्थित सरकारी निवासलाई रङरोगन तथा मर्मतसम्भार गरेर तयारी अवस्थामा राखेको थियो । सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पहिले सभामुख बसिसकेको लैनचौर निवासमा सर्न अनुरोध गरे पनि घिमिरेले आलटाल गरेका छन् ।

सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारमा सभामुखको निवास व्यवस्थापन हुन केही समय लाग्ने बताए । लैनचौर एउटा विकल्प भए पनि बालुवाटारभित्रै व्यवस्थापन गर्ने प्रयत्न गरिरहेको सचिव आचार्यको भनाइ छ । ‘उहाँको निवास बालुवाटार नै हो । त्यहाँ राष्ट्रिय सभा अध्यक्ष बस्नुभएको रहेछ । उहाँहरूको व्यवस्थापन चाँडै मिलाउँछौँ,’ उनले भने, ‘हामी व्यवस्थापन गर्दै छौँ, सभामुखसँग कुरा भइसकेको छ ।’

उनले सभामुखको निवास राष्ट्रिय सभा अध्यक्षले ओगटेकाले बालुवाटारभित्रकै मुख्यसचिवको निवासलाई सभामुख घिमिरेले प्रयोग गर्ने गरी व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । ‘बालुवाटारभित्रै १८–२० दिनभित्र व्यवस्थापन गर्छाैँ । यसबीचमा सभामुखलाई केही दुःख भएको छ, यसका लागि हामीले क्षमा मागिसकेका छौँ,’ उनले भने । बालुवाटारमा मन्त्रिपरिषद् बस्न प्रधानमन्त्रीले प्रयोग गरिरहेको कक्ष खाली गरेर दिने सहरीको योजना छ ।

संसद् सचिवालय आन्तरिक व्यवस्थापन शाखा प्रमुख त्रिविक्रम पराजुलीले कानुनअनुसार सभामुखको निवास व्यवस्थापन गर्ने दायित्व सहरी विकासको भएको र आफूहरूले ताकेता गरिरहेको बताए । ‘अहिले सभामुख, उपसभामुख र उपाध्यक्ष कसैको निवास छैन । निर्वाचन हुनुभन्दा १५ दिनअघिबाटै सहरी विकास मन्त्रालयलाई ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘सभामुखको निवास १५ दिनभित्र व्यवस्थापन हुन्छ भनेको छ ।’

सभामुख घिमिरेका स्वकीय सचिव देवप्रकाश भट्टराईले हालसम्म निवासको व्यवस्थापन नभएको बताए । ‘सरकारले विभिन्न प्राविधिक समस्याले अलिकति समय लाग्ने भयो, १२–१५ दिनभित्र सभामुखको निवास जहाँ हो त्यहीँ लगेर राख्छौँ भनेको छ,’ उनले भने । सरकारले औपचारिक रूपमा लैनचौर सरिदिन नभनेको र सभामुखकै निवासमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उनले दाबी गरे । ‘अब सभामुखलाई अनौपचारिक वा व्यक्तिगत भेटमा अनुरोध गरेको बेग्लै हो । राज्यले कहाँ व्यवस्थापन गर्ने भन्ने फरक कुरा हो । प्रधानमन्त्री र मन्त्रीभन्दा पनि सहरी मन्त्रालयको सम्बन्धित निकायले प्राविधिक समस्याले केही समय लाग्ने भयो, बालुवाटारभित्रै व्यवस्थापन गर्छाैँ भनेका छन्,’ स्वकीय सचिव भट्टराईले भने ।

पञ्चायतकालमा चिफ अफ प्रोटोकल कार्यालय रहेको लैनचौर निवासमा केही समय काठमाडौं महानगरका तत्कालीन मेयर केशव स्थापित बसेका थिए । त्यसपछि उपराष्ट्रपति निवास बनेको थियो । परमानन्द झादेखि केही समय नन्दबहादुर पुनसमेत बसेका थिए । पुन समाज कल्याण परिषद्छेउको उपराष्ट्रपति भवन सरेपछि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई उक्त भवनमा बसेका थिए । कृष्णबहादुर महरा सभामुखबाट पदमुक्त हुँदा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना हतार–हतार बालुवाटारको निवास सरे ।

केही समयपछि सभामुख चुनिएका सापकोटालाई निवास अभाव भयो । लैनचौरमा बसिरहेका तत्कालीन मन्त्री भट्टराईलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा सारेर सापकोटालाई लैनचौरमा व्यवस्थापन गरिएको थियो ।

उपसभामुख र उपाध्यक्षको निवास भने तयार भइनसकेको सचिव आचार्यले जानकारी दिए । ‘तत्काललाई उहाँहरू बसेको घरको भाडा नियमानुसार उपलब्ध गराउँछौँ,’ उनले भने, ‘भैँसेपाटीमा आवास बन्दै छ । वैशाखभित्र निर्माण सम्पन्न गर्ने प्रयास गरिरहेका छौँ । केही कारणले ढिलाइ भयो भने पनि असार मसान्तसम्म सक्छौँ । त्यसपछि निवास उपलब्ध गराउँछौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष