NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

रविले भने – म अभिमन्यु होइन, भोलिबाट चुप बस्दिनँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अभिमन्यू नभएको बताएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो मौनता आजसम्मका लागि मात्र भएको र भोलिदेखि आफू चुप नबस्ने बताएका हुन् ।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नु होला,’ उनले लेखेका छन्, ‘मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

अभिमन्यु पौराणिक कथा महाभारतका पात्र अर्जुनका छोरा हुन् । महाभारतको युद्धमा चक्रव्युहभित्र फसेका उनी बाहिर निस्किन नसकेर काैरवका सेनाद्वारा घेराबन्दीमा परेर मारिएका थिए ।

पाैराणिक कथाका उनै पात्र  अभिमन्युलाई इंकित गर्दै आफू त्यस्तो नभएको र हालको चक्रव्युहबाट बाहिर निस्किन सक्ने समाधान आफूसँग भएको आशय  प्रकट गरेका छन् । हाल धेरैले रविको राजनीति पतनतर्फ गएको अड्कलबाजी गरिरहँदा उनले आफूलाई अभिमन्युसँग तुलना गर्दै यस्तो बताएका छन् ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर नयाँ नागरिकता लिएसँगै पुनः पार्टी सभापति भएका उनले उपप्रधान तथा गृहमन्त्रीको पद आफैंले पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् ।

आफूमाथि राहदानीको विषयमा छानबिन भइरहेपनि स्वार्थ बाँझिने मन्त्रालयमा दाबी गरिरहेका कारण यतिबेला उनीमाथि नैतिक प्रश्न उठिरहेको छ । उनीमाथि अमेरिकी पासपोर्ट कायम भइरहेकै समयमा नेपाली पासपोर्ट लिएको आरोपमाथि छानविन भइरहेको छ ।

हाल उनले विगतमा नेताहरूविरूद्ध समाजिक सञ्जालमा लेखेका कटाक्षपूर्ण स्टाटसहरू एकपछि अर्को गर्दै भाइरल भइरहेका छन् । आफूमाथि भइरहेको यीनै आलोचनामाथि कटाक्ष गर्दै उनले आफू भोलिबाट चुप नबस्ने अभिव्यक्ति दिएका छन् ।