NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

गृहबारे निर्णय लिन रास्वपाको संयुक्त बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सरेको छ । बिहीबार दिउँसो ३ बजे बोलाएको बैठक अपरान्ह साढे ४ बजे केन्द्रीय कार्यालय बसुन्धारामा बस्न लागिएको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्रालयको विषयमा सत्ता साझेदारदलबीच भएको विवादलगायत विषयमा छलफल हुने नेता ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।

‘सरकार निर्माणको क्रममा सत्ता साझेदार दलहरूबीच गृहमन्त्रालय रास्वपालाई दिने सहमति भएको हो । अहिले पनि रविजीलाई नै मन्त्री बनाएर पठाउँदा जनताको काम राम्रोसँग गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ तर पार्टीभित्र विकल्पको विषयमा छलफल नभएको भने होइन । यस विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्छ’, उनले भने ।

नागरिकता विवादमा सभापति रवि लामिछानेले सांसद, उपप्रधान तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरूलाई नै दिनुपर्ने अडान लिँदै आएको छ । सर्वोच्चको आदेशमा पदमुक्त भएपनि गैर सांसदको रूपमा गृहमन्त्रालयको नेतृत्व आफै गर्न चाहेका छन् । आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई दबाव दिइरहेका छन् ।

तर प्रधानमन्त्रीले नागरिकता प्रकरणमा सर्वोच्च अदालतको पूर्ण फैसला नआएसम्म रविलाई गृहमन्त्रालय नदिने अडान लिएका छन् । उनीमाथि राहदानी प्रकरणमासमेत मुद्दा लाग्न सक्नेतर्फ सचेत गराउँदै तत्काल गृहमन्त्री दिन नमिल्ने सन्देश प्रधानमन्त्रीले रविलाई दिएका छन् ।