नवलपुरमा ६ महिनामा थपिए २५७ उद्योग

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको ६ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् ।
नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताए । ‘यहाँ कृषि, पर्यटन र सेवामूलक उद्योग दर्ताको क्रम धेरै छ, सायद जिल्ला यसका लागि अनुकूल भएर हुनसक्छ, साथै कृषितर्फ राज्यले दिने अनुदान सहयोगका कारणसमेत आकर्षण भएको हुनसक्छ,’ उनले भने ।
वाणिज्यतर्फ भने नवलपुरमा तीन सय ६८ वटा नयाँ व्यवसाय थप भएका छन् । छ महिनाको अवधिमा यो सङ्ख्यामा नयाँ वाणिज्य दर्ता भएको कार्यालय प्रमुख खनालले बताए । नवलपुरमा उद्योग तथा वाणिज्यको कुल सङ्ख्या १५ हजार दुई सय ५० पुगेको छ । चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्यको संख्या जोड्दा यो मात्रामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य नवलपुरमा रहेका पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले बताए ।
जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य राजमार्गमा जोडिएका पालिकामा नयाँ थपिने क्रम धेरै रहेको छ । त्यसको तुलनामा पहाडी क्षेत्रमा भने निकै कम मात्रामा उद्योग तथा वाणिज्य थपिने क्रम रहेको छ । जिल्लाको सदरमुकाम कावासोतीसहित देवचुली, गैँडाकोट र मध्यविन्दुमा नयाँ उद्योग तथा वाणिज्य दर्ता हुने क्रम धेरै रहेको छ ।
यसैबीच उद्योग तथा पर्यटन कार्यालयले चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्य दर्ताबाट रु ४० लाख छ हजार राजस्व सङ्कलन गरेको छ । जसमध्ये उद्योग दर्ताबाट रु १८ लाख ८८ हजार छ सय २५ र वाणिज्य दर्ताबाट रु २१ लाख १७ हजार चार सय ५० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख खनालले बताए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया