NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

‘थिंक ट्यांक’ बलियो नभए राष्ट्रको प्रगती हुँदैन–खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राज्यको ‘थिंक ट्यांक’ बलियो नभए राष्ट्रको प्रगती नहुने बताएका छन् ।

आज निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘कुनै पनि राष्ट्रमा आजको दिनमा थिंक ट्यांक बलियो छैन भने, त्यो मुलुक अघि बढ्न सक्दैन,’ उनले भने, ‘त्यसैले नीति निर्माण गर्न सहयोग गर्ने थिंक ट्यांकहरूलाई बलियो बनाउनुपर्छ ।’

हामीले बनाएको संविधानले नै परिकल्पना गरेका कतिपय ऐन बनाउन नसकेको विषय उनले उठान गरे । यस्ता ऐनहरू समयमा बनाउन उनको जोड छ ।

प्रष्तिष्ठानले आज निर्वाचन प्रणाली सुधारबारे अध्ययनको संक्षिप्तको संक्षिप्त सारबारे प्रधानमन्त्री, प्रर्वप्रधानमन्त्री, सांसद तथा दलका सदस्यहरूलाई राखेर छलफल गरेको थियो । विद्यमान निर्वाचन प्रणालीबारे दल तथा सांसदहरूको धारणा बुझ्ने जमर्कोका साथ यो छलफल गरिएको प्रतिष्ठानका प्रवक्ता मुकुन्द कट्टेल(पिएचडी) ले जानकारी दिए ।

उक्त छलफलमा खर्चिलो निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, उम्मेदवार छनोटका लागि दलभित्र प्रारम्भिक निर्वाचन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, विद्युतीय मतदान, विदेशमा रहेका नेपालीको मताधिकार, सांसद नरहेका व्यक्तिबाट मन्त्री चयन, स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रको हैसियत लगायतका विषय उठान भएका थिए । प्रतिष्ठानले यीनै विषयलाई समेटेर विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नेछ ।