को हुन् सुदूरपश्चिमका मुख्यमन्त्री शाह ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । राजेन्द्रसिंह रावल नेतृत्वको सरकार विश्वासको मत नपाएर ३० दिनमा ढलेपछि शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।
शाहलाई प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरे ।
शाहले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । सत्तागठबन्धन कायम रहेमा तथा नागरिक उन्मुक्ति पार्टीले साथ नदिएमा उनलाई पनि विश्वासको मत लिन कठिन हुनेछ ।
को हुन् शाह ?
अघिल्लो कार्यकालमा सबै प्रदेश सरकार ढले, केन्द्रको राजनीतिक प्रभावले । तर सत्तासमीकरण फेरबदल हुँदा पनि सुदूरपश्चिम सरकारमा भने कुनै प्रभाव परेन । त्रिलोचन भट्ट आफ्नो पूरा कार्यकाल जिम्मेवारीमा रहेर बिदा भए ।
तर गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा अस्थिरता देखिएको छ । यही अस्थिरताको लाभ सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता शाहलाई मिलेको छ । तर यही अवस्थामा उपलब्धि रक्षा गर्न उनलाई सहज छैन ।
शाह कैलाली क्षेत्र नं. २(१) बाट नाउपाका रतनबहादुर थापालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । ५१ वर्षका शाहले ०४४ सालमा नेविसंघबाट राजनीति सुरु गरेका थिए । उनी लामो समय तरुण दलमा आबद्ध रहे । यस क्रममा उनले केन्द्रीय सदस्यदेखि उपाध्यक्षसम्मको भूमिका निर्वाह गरेका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा उनी कैलाली २ बाट प्रतिस्पर्धामा उत्रिएकोमा पराजित बनेका थिए । उनी कांग्रेस महासमिति सदस्यसमेत हुन् ।
प्रतिक्रिया