NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

६ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा

काठमाडौं । अमेरिकाले ६ चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ । चीनको जासुसी बेलुन प्रकरणपछि अमेरिकाले यो कदम उठाएको हो ।

अमेरिकी वाणिज्य विभागले कालोसूचीमा राखिएका कम्पनीको चीनको पिपुल्स लिबरेसन आर्मीसँग सम्बन्ध रहेको बताएको छ ।

कालोसूचीमा परेका कम्पनीहरूमा बेइजिङ नान्जियाङ एयरोस्पेस टेक्नोलोजी कम्पनी, चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कर्पोरेसन ४८ औं अनुसन्धान संस्थान, डोङगुआन लिङ्कोन रिमोट सेन्सिङ टेक्नोलोजी कम्पनी, इगल म्यान एभिएसन साइन्स एन्ड टेक्नोलोजी ग्रुप कम्पनी, ग्वाङ्झाउ तियान हाई जियाङ एभिएसन टेक्नोलोजी कम्पनी र शाङ्झी इगल्स म्यान एभिएसन साइन्स एन्ड टेक्नोलोजी कम्पनी छन् ।

यसअघि चिनियाँ जासूस बेलुन उड्ने क्रममा अमेरिकी आकाशमा प्रवेश गरेको थियो । यो बेलुन अमेरिकाको मोन्टानामा देखिएको थियो, त्यसपछि यसलाई लक्षित गरी साउथ क्यारोलिनाको तटमा खसालिएको थियो । अमेरिकाले यो बेलुन गुप्तचर जानकारी सङ्कलन गर्न प्रयोग भइरहेको दाबी गरेको छ । यद्यपि चीनले भने यो मौसम अनुगमन गर्ने बेलुन भएको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो विषयले चीन र अमेरिकाबीचको सम्बन्ध बिगार्ने छैन तर यो अमेरिकी सार्वभौमसत्ताको उल्लङ्घन भएको र अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाका लागि यसविरुद्ध कडा कारबाही गर्ने बताएका छन् । अमेरिकाले निशाना बनाएको बेलुनको चिनियाँ सेनासँग प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरेको छ । यससँगै अमेरिकाले बेलुनलाई जासुसीका लागि प्रयोग भइरहेको र चीनले पनि धेरै देशमा यस्तै जासुसी गरेको बताएको छ ।