NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

राष्ट्रपतिबारे के छ साना दलको धारणा ?

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्ने पक्षमा पुगेको छ । आइतबार र सोमबार दुई दिन चलेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान र व्यवस्थाको रक्षाका निम्ति राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय गरेको जसपा सांसद राजकिशोर यादवले बताए ।

‘राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा संविधान र व्यवस्थाप्रति प्रतिबद्ध, सबैलाई स्वीकार्य व्यक्तित्व हुनुपर्ने हाम्रो लाइन हो । त्यसमा समावेशिता पनि हाम्रो जोड छ । राष्ट्रपति र उपराष्ट्रपति चयन गर्दा खस–आर्य मात्रै हुनुभएन, मधेसी, दलित, मुस्लिमलगायतका अनुहार पनि हुनुप-यो भन्ने विषयमा छलफल भएको छ ।’

सोमबारको बैठकको सुरुमै अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको विषयलाई लिएर आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भएको त्रिपक्षीय भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । अहिलेको गठबन्धन अस्वाभाविक भएकाले नयाँ गठबन्धनको कोर्स अघि बढेको अध्यक्ष यादवको भनाइ थियो । ‘कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा सम्मिलित नयाँ गठबन्धन बन्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।

संघीयता, गणतन्त्रविरोधी दलहरूलाई गठबन्धनमा सहभागी गराउनुहुँदैन भन्ने विषय उठेको छ । राजनीतिक परिदृश्य चाँडै बदलिन सक्छ,’ बैठकमा त्रिपक्षीय भेटवार्ताबारे ब्रिफिङ गर्दै अध्यक्ष यादवले पुरानै गठबन्धन ब्युँतिने सम्भावनाबारे संकेत गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।