कोही किन बन्छ चोर ?
समाजशास्त्रीको चिन्ता–आर्थिक मन्दी कायम रहे अवस्था भयावह हुनसक्छ
काठमाडौं । यही फागुन १ गते बालाजु परिसरमा यातायात व्यवसायी तथा मजदुर आन्दोनलका क्रममा लोत्से मलको सटर नै फोडेर मोबाइल चोरी भयो । आन्दोलनरत व्यवसायी तथा मजदुरले मोबाइल चोरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएसँगै मोबाइल वितरक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर क्षतिपूर्ति माग गरे ।
सरकारसँग विभिन्न माग राखेर विरोधमा निस्किएका यातायात मजदुरले मच्चाएको उक्त स्वेत आतंकले ८ देखि ९ करोड रूपैयाँसम्म क्षति भएको व्यवसायी दिनेश चुल्याद्योले बताएका छन् ।
यसरी सामूहिक रूपमाखुलेआम देशको राजधानीमा डकैती गरिएको घटना सम्भवतः पहिलो हुनुपर्छ । तर यो प्रवृत्ति भने पुरानै हो ।आदिमकालदेखिको यो समस्या आज पनि छ र भोलि पनि रहिरहनेछ । केवल मात्रा भने तलमाथि हुनसक्छ ।
समाजशास्त्री निर्मला ढकाल समाजमा चोरी बढ्नुको प्रमुख कारण बेरोजगारी र कमजोर प्रहरी प्रशासन भएको औंल्याउँछिन् । ‘प्रशासनको कमीकमजोरीले पनि चोरीका घटना बढेका छन्,’ उनले भनिन् ।
चोरी र लुटपाटका घटना समयमै नियन्त्रण गर्ने र संलग्नको पहिचान गर्ने संयत्र तथा प्रविधि प्रहरीले विकास गर्न नसक्दा चोरी झन बढ्दै गएको उनको तर्क छ ।
चोरी गर्न श्रम गर्नुभन्दा निकै सजिलो हुन्छ । चोरीबाट सहजै आवश्यकता पूर्ति गर्न सकिने भएकाले नैतिकतालाई गौण ठान्नेहरूले यस्तो बाटो रोज्ने गरिएको उनको ठम्याइ छ । ‘समाजमा चोरी बढ्नुलाई व्यक्तिको नैतिकता सँग जोडेर हेर्न मिल्दैन,’ उनले भनिन्,‘ यो एउटा पाटो भए पनि व्यक्तिको मुख्य कुरा भोको पेट हो ।’
समाजशास्त्री ढकाल अहिलेको अवस्थाले देशमा बेरोजगारीको दर र प्रशासनको हविगत दुरुस्त देखाएको बताउँछिन् । ‘मानिसले कमाउनका लागि सहजै रोज्ने बाटो चोरी हो । व्यक्तिको जीविकोपार्जनका लागि उसले कि माग्छ कि चोर्छ,’ उनले भनिन् ।
चोरीले समाजलाई नकारात्मक बाटोमा लैजाने समाजशास्त्री ढकाल बताउँछिन् । । यसले व्यक्तिमा असुरक्षा बढ्नुका साथै व्यापारी व्यवसायीहरूमा निराशा ल्याइदिन्छ । समाजमा चोरीका घटना बढ्दा प्रहरी प्रशासनप्रति विश्वासमै गिरावट आउने उनको अनुभव छ ।
मान्छेले किन गर्छ चोरी ?
पछिल्लो समय आर्थिक संकटले धेरैको रोजगारी गुमेको छ । व्यापार व्यवसायमा ह्रास आएको छ । जसले व्यक्तिका आधारभूत आवश्यकता पूर्ति गर्न कठिन बनाएको छ ।
बेरोजगारी समस्याले चोरी बढाएकाले रोजगारको वातावरण सिर्जना गर्नुपर्ने समाजशास्त्री ढकालको भनाइ छ । आर्थिक अवस्था सुधार हुँदा चोरीका घटना कम हुँदै जाने उनी बताउँछिन् । समाजमा जति बेरोजगारी, आर्थिक मन्दी बढदै जान्छ, चोरीको घटना स्वतः बढदै जाने उनको विश्लेषण छ ।
विद्यमान आर्थिक मन्दीमा सुधार नआएर अवस्था यही रहिरहने हो भने चोरी र लुटपाटका घटनाले समाजमा भयावह रूप लिने उनको अनुमान छ ।
रोगले पनि बनाउँछ चोर
पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि दोस्रो पटक ०७० मा अर्को निर्वाचन भयो । दोस्रो पटक बनेको संविधानसभा संविधान निर्माण गर्नुपर्ने दबाबमा थियो ।
संविधान निर्माणका लागि विभिन्न समितिहरू बने । त्यसमध्ये एउटा समितिका सदस्यको मोबाइल फोन गायब भयो, बैठक चल्दाचल्दै ।
यसले एक किसिमको तरंग ल्यायो । देशको संविधान निर्माणमा जुटेका प्रशिक्षित व्यक्ति मात्र सामेल बैठकमा यस्तो घटना हुनु चानचुने थिएन ।
पछि थाहा भयो, एक सभासदमा चोरी गर्ने रोग रहेछ ।
विभिन्न खोज तथा अनुसन्धानले क्लेप्टोमेनिया नामक रोग लागेका मानिसले आवश्यकताले नभएर सोखले चोरी गर्ने गरेको पाइएको छ ।
क्लेप्टोमेनिया एक प्रकारको मानसिक रोग हो । यसबाट संक्रमित व्यक्तिले आफ्नो सन्तुष्टिका लागि चोरी गर्ने गरेको मनोविद् गंगा पाठक बताउँछिन् । उनका अनुसार यो रोग लागेका व्यक्तिले आनिन्दित र खुसी महसुस गर्नकै लागि चोरी गर्ने गरेको पाइएको छ । ‘सबै कुरामा सम्पन्न हुँदाहुँदै पनि यस्ता रोग लागेका व्यक्तिले आत्मसन्तुष्टिका लागि मन परेको सामान चोर्ने गर्छन् । यसबाट उनीहरूलाई पश्चताप नभई गर्व महसुस हुन्छ’ उनले भनिन् ।
यो समस्याको उचित उपचार परामर्श भएको उनी सुझाउँछिन् । उनका अनुसार, बेलैमा उपचार गरे यो रोग निको हुन्छ । अन्यथा बुढेसकालसम्म पनि चोरी गर्ने समस्या हुन्छ ।
यो रोग लागेका बिरामी परपीडक स्वभावका हुन्छन् । अरूलाई जति हानि पुर्याउन सकियो, उनीहरू उति नै खुसी हुन्छन् ।
चोरी गर्दा मस्तिष्कमा असर
चोरी गर्दा व्यक्तिको मनोविज्ञान विक्षिप्त हुन्छ । जसले व्यक्तिलाई तनाव, चिन्तामा धकेलिदिन्छ । चोरीले व्यक्तिमा रिस, अनिन्द्रा र छटपटाहट ल्याइदिन्छ ।
चोरी गर्ने बानीबाट मुक्त हुन नसक्दा त्यस्ता व्यक्तिको मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्ने मनोविद् गोपाल ढकाल बताउँछन् ।
‘चोरीको घटनाले व्यक्तिमा तनाव बढ्छ । जसले उसलाई मनोसामाजिक समस्यामा लैजान्छ,’ उनले भने ।
यस्तो असरको प्रभावबाट व्यक्तिलाई बाहिर निकाल्न मनोपरामर्श आवश्यक रहेको औंल्याउँछन् ढकाल । उनी भन्छन, ‘रोग लाग्दा मात्र मनोपरामर्श लिने होइन, यस्ता घटनामा पनि परामर्श जरुरी छ ।’
चोरी अक्षम्य अपराध हो । यस्ता व्यक्ति जताततैबाट बहिष्किृत हुन्छन् । कानूनले समेत यसलाई दण्डनीय कार्य मानेको छ । नेपालको प्रचलित कानूनअनुसार चोरीमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद, रू ३० हजारसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया