NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

आयातित अन्नकै भर

म्याग्दी । म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो । अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । पूर्वाधारको विकाससँगै सडक बनेर गाडी कुद्न थालेपछि हरिया फाँट कङ्क्रिटका घरले भरिन थालेका छन् ।

बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्न थालेपछि खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी–४ सिङ्गा, रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायत स्थानमा सडकको पहुँच पुगेसँगै कृषि उत्पादन घटेको छ । यहाँका स्थानीय आयातित अन्नको भर पर्न थालेका छन् ।

अन्न भण्डारसँगै प्राङ्गारिक खेतीका लागि प्रख्यात गाउँ अहिले कङ्क्रिटको सहरमा परिणत हुन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सदरमुकामसँग जोडिएको गाउँ भएकाले पनि यस क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता लिएको छ ।

खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आउन थालेको हो । ‘खेतीयोग्य जमिन निकै कम छन्, भएका जमिनमा पनि घर ठडिन थालेपछि उत्पादनमा कमी आएको छ । आयतित खाद्यान्नमा निर्भर हुनुपर्ने अवस्था छ,’ स्थानीय वेदप्रसाद शर्माले भने ।

कृषिजन्य वस्तुको उत्पादनमा भन्दा जग्गा बेचेर बढी आम्दानी हुन थालेपछि किसानले जग्गा बेच्न थालेका स्थानीय बताउँछन् । खेतीयोग्य जमिन घडेरी बनाउनका लागि बेच्न थालेपछि स्थानीय उत्पादनमा जिल्ला अघि बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन् । सडक सञ्जाल विस्तार हुँदा कृषियोग्य जमिन मासिँदै जान थालेको छ ।

सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी सस्तोमा पाइने भएकाले घडेरी किनेर घर बनाउने आकर्षण बढेको स्थानीय बताउँछन् । हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तारका साथै जग्गाको किनबेच बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताउनुभयो । उहाँका अनुसार रू एक लाख ५० हजार सम्ममा घडेरी पाइन्छ ।

‘आधुनिक कृषि प्रर्णाली विकास हुन सकेको छैन । रैथाने परम्परागत कृषि पेशालाई अपनाउन अहिलेको परिवेशमा सुहाउँदैन, खेतीयोग्य जमिन बेच्नुबाहेक विकल्प छैन,’ स्थानीय किसान टेकबहादुर कार्की भन्छन् ।

यहाँको भूवनोटअन्तर्गत आठ प्रतिशत बेँसी, ५६ प्रतिशत उच्च पहाडी र ३६ प्रतिशत हिमाली क्षेत्र पर्दछ । समुद्र सतहदेखि ७९२ मिटरदेखि आठ हजार १६७ मिटरसम्म फैलिएको छ । १५ वर्षयताको तथ्याङ्क हेर्दा यस क्षेत्रमा आधाभन्दा बढी खेतलाई घडेरी बनाइएको छ । हाल खेतीभन्दा आयातित खाद्यान्नका भरमा यहाँको जनजीवन चलेको छ । खेतीयोग्य जमिन बेचेर काठमाडौँ, पोखरा, चितवनलगायत सहर जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको स्थानीय बताउँछन् ।