NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

तीन दलले माधवका नाममा सहमति खोज्ने

काठमाडौं । माओवादी, एकीकृत समाजवादी र जसपाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरेका छन् । बिहीबार साँझ भएको तीन दलका शीर्ष नेताको बैठकमा नेता नेपालले राष्ट्रिय सहमति बन्ने अवस्थामा आफू तयार रहेको बताएका थिए । उनको नाममा राष्ट्रिय सहमति जुटाउन कांग्रेस र एमालेसँग पनि छलफल गर्ने तीन दलको समझदारी छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार शुक्रबार बिहान कांग्रेससँग र दिउँसो एमालेसँग छलफल गर्ने तयारी छ । ‘राष्ट्रिय सहमतिका लागि हामीले माधव कमरेडको नाम अघि सार्‍यौँ । हाम्रो प्रस्तावमा प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहमत हुनुभयो । तीन दलको निर्णयले मात्रै हुने कुरा भएन । त्यसकारण कांग्रेससहित अन्य दलहरूसँग पनि छलफल गर्ने भन्ने भएको छ,’ तीनदलीय छलफलमा सहभागी हमालले भने ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको तीन दलको बैठकअघि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जसपा नेताहरूसँग छुट्टाछुट्टै छलफल पनि गरेका थिए । तीन दलको बैठकलगत्तै बस्ने भनिएको कांग्रेससहित चार दलको बैठक भने स्थगित भएको छ । शुक्रबार बिहानका लागि बैठक सारिएको छ ।

माओवादी उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिका लागि नेता नेपालको नाम कांग्रेससहितको बैठकमा एजेन्डाको रूपमा प्रस्तुत गर्ने कुरा भएको बताए । ‘माधव नेपालका विषयमा कांग्रेससँग एकपटक कुरा गरौँ भन्ने भएको छ,’ उनले भने, ‘उहाँको नाम पनि एजेन्डाको रूपमा प्रस्तुत हुन्छ ।’ शुक्रबारको छलफलबाट निष्कर्षमा पुग्ने उनको भनाइ छ । ‘राष्ट्रपति, उपराष्ट्रपति उम्मेवारमा के गर्ने भन्ने विषयमा व्यापक छलफल भयो । भोलि पनि छलफल गरेर निष्कर्षमा पुग्छौँ,’ शर्माले भने ।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले शुक्रबार कांग्रेससँगको छलफलपछि अबको राजनीतिक कोर्स कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्ने बताए । ‘कांग्रेससँग बसेपछि मात्रै सबै कुरा टुंगिन्छ । नयाँ गठबन्धनबारे पनि टुंगो लाग्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।