NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

राष्ट्रपति निर्वाचनबारे अझै अनिर्णीत पाँच दलले कसलाई सघाउलान् ?

काठमाडौं । राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसलाई मत दिने भन्नेमा पाँच दल अझै अनिर्णीत छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले आन्तरिक छलफलपछि निर्णयमा पुग्ने जनाएका छन् ।

प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद भएको राप्रपाले उपयुक्त समयमा निर्णय लिने जनाएको छ । प्रवक्ता मोहन श्रेष्ठले भने, ‘हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ । राष्ट्रपतिको निर्वाचनअगावै उपयुक्त समयमा कसलाई मत दिने भन्नेबारे निर्णय गर्छौँ । अहिले निर्णय भइसकेको छैन ।’ आठदलीय गठबन्धन बनेसँगै राप्रपा समर्थन फिर्तासहित सरकारबाट बाहिरिएको छ ।

प्रतिनिधिसभामा १९ सांसद रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने विषयमा निर्णय गरेको छैन । संसदीय दलको नेतासमेत रहेका पार्टी उपाध्यक्ष डोलप्रसाद अर्यालले पार्टी पर्ख र हेरकै अवस्थामा रहेको बताए । ‘राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारे हामी छलफलमै छौँ, निर्णय गरिसकेका छैनौँ । यसबारे छलफल गर्न सोमबार केन्द्रीय समिति बैठक बोलाएका छौँ । आज त मनोनयन मात्रै दर्ता भएको हो ।

चुनाव त हुन बाँकी नै छ । नेपालको राजनीतिमा ‘रात गए अग्राख पलाए’ हुने गरेको छ । तपाईं–हामीले अनुमान गर्नेभन्दा अलि फरक हिसाबले अघि बढिरहेको छ यहाँको राजनीति । त्यसैले हामी अहिले पर्ख र हेरकै अवस्थामा छौँ,’ उनले भने, ‘चुनावसम्म परिदृश्य जे पनि हुन सक्छ, त्यसैले हामीलाई निर्णय लिन हतार छैन ।’

त्यस्तै, प्रतिनिधिसभामा एक र प्रदेश सभामा तीन सांसद रहेको नेमकिपा पनि परिस्थिति नियालेर निर्णय लिने योजनामा छ । प्रतिनिधिसभा सांसद प्रेम सुवालले आफूहरूको एजेन्डा सम्बोधनको प्रतिबद्धता जनाउने उम्मेदवारलाई मत दिन सक्ने बताए । ‘कालापानीबाट सेना फिर्ता गर्नुपर्ने, असमान सन्धि खारेज, एमसिसी र एसपिपी खारेज, स्वास्थ्य शिक्षा निःशुल्कलगायत एजेन्डा सम्बोधनको प्रयत्न गर्ने प्रतिबद्धता गर्ने उम्मेदवारलाई सम्बोधन हुन सक्छ । व्यवस्थाविरोधी र पक्षधर दलहरू को कहाँ पुग्छन्, हेर्न बाँकी छ । चुनाव आउन अझै धेरै दिन बाँकी छ । यी सबै परिस्थिति नियालेर हामी निर्णय लिन्छौँ,’ उनले भने ।

कुनै पनि उम्मेदवारको पक्षमा नखुलेको अर्को दल हाम्रो नेपाली पार्टीसँग प्रदेश सभामा दुई सांसद छन् । बागमती प्रदेश सभा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले भने, ‘हाम्रो पार्टीबाट बागमती प्रदेश सभामा दुई सांसद छौँ । तर, राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय भइसकेको छैन । बदलिएको राजनीतिक परिस्थितिमा पार्टीभित्र छलफल भए पनि कसको पक्षमा मतदान गर्ने निर्णय भएको छैन । आइतबारसम्म निर्णय हुन्छ होला,’ उनले भने ।

संघीय समाजवादी पार्टीको पनि मधेस प्रदेश सभामा मात्रै एक सांसद छन् । यो पार्टीले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर निर्णय लिन बाँकी छ । पार्टी अध्यक्ष रिजवान अन्सारीले आइतबार निर्णय लिने बताए । ‘नयाँ गठबन्धन बनेकाले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर अझै निर्णय गर्न सकेको छैन । आइतबार बिहान १० बजेसम्म छलफल गरेर निर्णयमा पुग्छौँ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।