जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।’
सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । उनले भने, ‘सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगाेमा पुग्छ । जनयुद्धका सहिदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।’
अन्तक्रियामा सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो ।
नेकपा (माओवादी केन्द्र) ले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ । कार्यक्रममा प्रधानमन्त्री दाहालका प्रमुख सल्लाहकार हरिबोल गजुरेल, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, नेता हितराज पाण्डेलगायतको सहभागिता थियो ।
जनयुद्धका सहिद परिवारले राज्यकोतर्फबाट आफूहरुलाई उचित सम्मान दिनु जरुरी रहेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया