NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।’

सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । उनले भने, ‘सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगाेमा पुग्छ । जनयुद्धका सहिदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।’

अन्तक्रियामा सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो ।

नेकपा (माओवादी केन्द्र) ले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ  । कार्यक्रममा प्रधानमन्त्री दाहालका प्रमुख सल्लाहकार हरिबोल गजुरेल, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, नेता हितराज पाण्डेलगायतको सहभागिता थियो ।

जनयुद्धका सहिद परिवारले राज्यकोतर्फबाट आफूहरुलाई उचित सम्मान दिनु जरुरी रहेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष