NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रधानमन्त्री प्रचण्डमाथि ओलीको टिप्पणी : हातमा फूल लिएको छु भन्दै मलाई छक्याउनुभयो

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छक्याएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले दाहालबाट धोका खानु कुनै नयाँ विषय नभएको बताए । ओलीसँगको सम्बन्ध तोड्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबार कांग्रेससँग समीकरण बनाएपछि उनको प्रतिक्रिया आएको हो ।

‘उहाँ हातमा चक्कु लिएर बस्नु भएको छ । मैले फूल लिएर बसेको छु, तपाईंले चक्कुजस्तो देख्नुभयो होला । त्यसमा कुनै भ्रम नराख्नोस् मलाई भन्नुभयो’, उनले भने, ‘तपार्ईंले भनेपछि फूलै हो नि भन्दै म बसें । तर मेरा आँखाले धोका खाएको थिएन । उहाँ ढाँट्न छक्याउन अप्ठ्यारो मान्नु हुन्न । उहाँले धोका दिनुभयो ।’

कार्यक्रममा प्रचण्डप्रति थप आक्रोस पोख्दै ओलीले आफ्ना सहकर्मी, सहयोद्धा र शहीदहरूलाई समेत धोका दिएको आरोप लगाए । पुष्पकलम दाहालले कुरा एउटा गर्ने र काम अर्कै गर्दै आएको टिप्पणी गरे ।

‘उहाँले आफ्ना सहयोद्धा र शहीदहरूलाई धोका दिनुभयो । मलाई धोका दिन कुनचाहिँ ठूलो कुरा भयो र ?’, प्रचण्डतर्फ प्रश्न तेस्र्याउँदै ओलीले भने, ‘पुष्पकमल दाहाल कुरा एउटा गर्नुहुन्छ काम अर्कै गर्नुहुन्छ । देब्रेतिर हेर्नुहुन्छ निशाना दाहिनेतिर हान्नुहुन्छ । अस्तिको दिनसम्म पनि उहाँले मलाई छक्याइरहनुभयो । यद्यपि उहाँको व्यवहार मैले नबुुझेको होइन ।’

१० पुसमा ओलीकै प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गरेको ओलीले दाबी गर्दै आएका छन् । सरकार गठनअघि एमालेसँग भएको पूर्वसहमति प्रचण्डले तोडेको आरोप ओलीको छ ।