NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रास्वपाले निर्णय लिँदै

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बिहान ११ बजे केन्द्रीय कार्यालय बसुन्धरामा बसेको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन र राष्ट्रपतिको निर्वाचन सम्बन्धमा छलफल हुने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने, राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा बैठकले निर्णय लिन्छ’, अर्यालले भने ।

नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले बदर गरिदिएपछि २२ माघमा सरकारलाई दिएको समर्थन कायमै राख्दै रास्वपाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको थियो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सहकार्य भंग गर्दै कांग्रेससँग समीकरण बनाएपछि सत्ता गठबन्धन भत्किएको छ । सरकारमा सहभागी राप्रपाले शनिबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

एमालेले समर्थन फिर्ता लिने कि नलिने विषयमा सोमबार बस्ने सचिवालय बैठकले निर्णय लिनेछ । १० पुसमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि रास्वपा सरकारमा सहभागी भएको थियो ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।