NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बजेटको टुंगो नलगाइ राष्ट्रपतिको आवाससम्म बाटो बनाइदिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आवास व्यवथापन तथा सुरक्षाका लागि मन्त्रिपरिषद्ले गत १० माघमै निर्णय गरेपनि कार्यान्वयनमा नगएको गुनासोसहित शहरी विकास मन्त्रालयमा पत्राचार भएको छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्रालयलाई फागुनको तेस्रो हप्तामा काम सकिनुपर्ने स्मरण गराउँदै पत्राचार गरेको हो।

मन्त्रालयले राष्ट्रपति भण्डारीको आवाससम्म पुग्ने सडक मर्मत संभार लगायत सुरक्षा निकायको लागि आवश्यक पर्ने आवास व्यवस्थापनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । यसबारे निर्णय भइ लिखित पत्र आएपनि हालसम्म बजेट र कार्यक्रम नभएको जनाइएको छ ।

स्थलगत निरिक्षण गरी सुरक्षा निकायका कर्मचारीको समन्वयमा निर्माण कार्य गर्नुपर्ने हुँदा बजेट कार्यक्रमको व्यवस्था मिलाइदिन अपिल गरिएको छ ।

राष्ट्रपति भण्डारीको आवास व्यवस्थापन तथा सुरक्षा भवन निर्माणका लागि करिब २७ लाख खर्च हुने सचिवालयले जनाएको छ ।

राष्ट्रपति निवासको उत्तर र दक्षिण पट्टि सेन्ट्री पोष्ट निर्माणको लागि नौ लाख १९ हजार ४५६ रुपैयाँ लाग्ने जनाइएको छ । राष्ट्रपति निवासको पश्चिम तथा सुरक्षा बल निवासको पश्चिममा सेन्ट्री पोष्ट निर्माणका लागि ९ लाख ८५ हजार १७४ र सुरक्षा बल आवासको लागि मर्मच संभार तथा घर भाडा खर्च ७ लाख ५० हजार लाग्ने भएको छ । घर भाडाको दर एक लाख २५ हजार रूपैयाँ प्रति महिनाको दरले चालु आर्थिक वर्षको ६ महिनाको लागि तोकिएको हो ।

राष्ट्रपति भण्डारी यही फागुन २८ गते विदा हुँदै छिन् । कार्यअवधी सकिएपछि उनले बुढानिलकण्डको चपलीस्थित आफ्नै निजी निवासमा बस्ने बताएकी छिन् । यसअघिका राष्ट्रपति डा रामवरण यादव आफ्नो निजी निवास हुँदाहुँदै पनि सरकारले भाडा दिनेगरी उपलब्ध गराएको घरमा बस्दै आएका छन् ।