NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

हराउँदै पठन संस्कृति : पुस्तकालय छन्, पाठक छैनन्

दोधारा चाँदनी । कुनैबेला पाठकले भरिभराउ हुने पुस्तकालय अहिले सुनसान छन् । प्रविधिको बढ्दो पहुँच र सामाजिक सञ्जालका कारण पठन संस्कृति लोक हुन थालेपछि पुस्तकालय सुनसान बनेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालयमा दुई वर्ष पहिलेसम्म पाठक आएर भरिभराउ हुने गरेकामा अहिले सुनसान छ । पुस्तकालयका सञ्चालक नारायण लम्साल दुई वर्षअघिसम्म पाठक प्रायजस्तो आउने गरेको भए पनि अहिले आउन छाडेको बताउँछन् ।

‘केही वर्ष पहिलासम्म फाट्टफुट्टरुपमा पाठक आउथे अहिले कोही आउँदैनन् । पुस्तकालयमा प्रशस्तै पुस्तक छन् तर अध्ययन गर्नेको सङ्ख्या छैन’, उनले भने। अहिले सामाजिक सञ्जालका कारण खोजेको कुरा गुगलमा तुरुन्तै भेटिने भएपछि उनीहरुलाई पुस्तकालयसम्म धाउनै नपर्ने लम्सालले बताए ।

पछिल्लो समय पढ्ने बानीको विकास नहुँदा पुस्तकालय सुनसान बनेको उनको भनाइ थियो । लम्सालले विद्यालयबाटै शिक्षककले विद्यार्थीलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिए । मानिस अहिले फुर्सदमा भए पनि टिकटक, फेसबुक चलाएर बस्ने गरेकाले पढ्ने बानी हराउँदै गएको उल्लेख गरे। लम्सालका अनुसार पुस्तकालयमा १२ हजारको हाराहारीमा पुस्तक छन् ।

बेदकोट सामुदायिक पुस्तकालयमा पनि पाठक नआउँदा बन्द हुने स्थितिमा छ । विसं २०७४ सालमा स्थापना गरिएको उक्त सामुदायिक पुस्तकालयमा अहिले अध्ययन गर्ने व्यक्ति नभएर बन्द हुने अवस्थामा पुगेको पुस्तकालयका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए । ‘अहिले मानिसमा पढ्ने बानी हराउँदै गएको छ । त्यसैले पनि यहाँ पढ्न आउनेको सङ्ख्यामा कमी हुँदै गएको छ’, उनले भने ।

पुस्तकालयलाई नयाँ प्रविधियुक्त बनाउनसके पाठकको संख्या बढ्ने उनको भनाइ थियो । पुस्तकालयमा अनुसन्धान गर्नेबाहेक अन्य कोही नआउने अध्यक्ष सिंहले बताए । पुस्तकालयमा बुढापाका धार्मिक पुस्तक पढ्न आउने गरेका छन् । ‘युवापुस्ता सामाजिक सञ्जालबाट नै आवश्यक कुरा खोज्ने र मोबाइल, ल्यापटपमा नै पढ्ने गर्दछन् । सामाजिक सञ्जालका कारण मानिसमा पुस्तकालयमा आएर पढ्ने रुचि घट्दै गएको छ’, उनले भने ।

प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मितबन्धुले प्रविधिको विकाससँगै पुस्तकालय पनि प्रविधियुक्त बनाउनुपर्ने बताए । पुस्तक नपढेसम्म ज्ञान हासिल गर्न नसकिने भन्दै उनले पुस्तकालयप्रति अभिरुचि राख्ने र प्रेरणा जगाउने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मितबन्धुले सामाजिक सञ्जालको प्रयोग सही तरिकाले गर्दा नवीन ज्ञान हासिल गर्न सहयोगी हुने बताए।

‘पुस्तकालयमा युवापुस्ताको रुचिका विषयसँग सम्बन्धित पुस्तक उपलब्ध हुनुपर्छ । स्रष्टाले पनि बद्लिँदो परिवेशअनुरुप पुस्तक लेख्नुपर्छ’, उनले भने । नेपालमा ज्ञान हासिल गर्नभन्दा मनोरञ्जनको साधनका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्नेको संख्या बढ्दै गएको उनको भनाइ थियो । त्यसैले बालबालिकालाई विद्यालयस्तरदेखि नै सामाजिक सञ्जालको सही प्रयोग गर्ने तथा पुस्तकप्रति अभिरुचि राख्नेखालका कार्यक्रम सञ्चालन गर्नसके पठन संस्कृतिलाई बचाई राख्न सकिने अध्यक्ष मितबन्धुले बताए ।