प्रधानमन्त्रीनिवासमा बिहानैदेखि जनयुद्धकालीन माओवादी नेताको बैठक

काठमाडौं । जनयुद्धकालीन माओवादी नेताहरूको बैठक मंगलबार बिहानैदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा अहिले बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
केही वर्षअघि खुलामञ्चमा प्रचण्डले जनयुद्धमा ज्यान गुमाएका पाँच हजार व्यक्तिको जिम्मा आफूले लिने विवादास्पद अभिव्यक्ति दिएपछि उनीविरुद्ध रिट दर्ताका लागि सर्वोच्चमा रिट परेको थियो । सुरुमा उक्त निवेदन दरपीठ गरिए पनि गत शुक्रबार सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएको थियो । यस्तो आदेशपछि माओवादी जनयुद्धकालीन नेताहरू तरंगित बनेका छन् । जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगमा लगेर किनारा लगाउनुपर्नेमा विस्तृत शान्ति सम्झौताविपरीत नियमित अदालतमा लगिएको माओवादी नेताको भनाइ छ । उत्पन्न यही नयाँ परिस्थितिमाझ माओवादीधाराका दल र नेता नजिकिएका हुन् । उनीहरूबीच सके पार्टी एकता नभए कार्यगत एकता हुनुपर्ने मत प्रकट हुँदै आएका छन् । जारी बैठकमा यसै विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत नेता सहभागी छन् ।
एकसाथ जनयुद्ध लडेका तर शान्ति प्रक्रियामा आएपछि छिन्नभिन्न बनेका माओवादी नेताहरू खासगरी मोहन वैद्य किरण, विप्लवलगायतले प्रचण्ड र उनको दलको कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । जनयुद्धबाट उदाय भए पनि यी नेता एक नदीका दुई किनाराजस्ता छन् । यी नेताबीच लामो समयदेखि जारी संवादहीनता अन्त्यले केही मुद्दामा कार्यगत सहकार्य हुनसक्ने देखाए पनि एकता नै भने असम्भव रहेको सो धाराका नेताहरू बताउँछन् ।
प्रतिक्रिया