NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

दुर्गा प्रसाईंको ‘कालोमोसो’ दस्ताका संयोजक पक्राउ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानअन्तर्गतको ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रशासन कार्यालय, चितवन परिसरबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालयले उनलाई छलफलका लागि भनेर मंगलबार बोलाएको थियो । प्रशासनको बोलावटपछि त्यहाँ उपस्थित भएका उनलाई प्रहरीले पक्राउ गरेको सो अभियानका चितवन अभियन्ता मेघराज पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनले थापासँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको जनाएको छ ।

कालोमोसो दस्ता प्रसाईंले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीलाई कारबाही गर्न खडा गरेका हुन् ।

थापाको पक्राउप्रति आपत्ति जनाउँदै अभियानले तत्काल रिहा गर्न आग्रह गरेको छ । साथै उसले रिहाइ नगरिए संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ ।

व्यवसायी प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियान घोषणा गर्दै बैंकको ऋण मिनाहा, व्याजदर घटाउनुपर्ने, संघीयता खारेजी गर्नुपर्ने माग अघि सारेका छन् । राजा प्रत्यक्ष सहभागी भएमा राजतन्त्र पुनस्र्थापनाको एजेण्डामा उभिने उनले बताएका छन् । आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले केही दिनअघि उनले राजधानी काठमाडौंमा प्रदर्शनी गरेका थिए ।