NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जनयुद्धकालीन माओवादी नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रमा पर्ने द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा लगेपछि एकाएक नजिकिएका जनयुद्धकालीन माओवादी नेताको बैठक आज पनि बालुवाटारमा बसेको छ । द्वन्द्वकालीन मुद्दाले सर्वोच्च अदालतमा प्रवेश पाएपछि एक साताको बीचमा दोस्रो पटक बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनयुद्ध एकसाथ लडेर पछि अलगथलग नेताहरूको बैठक बालुवाटारमा चलिरहेको जनाएको छ ।

जारी बैठकमा प्रचण्ड, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायतले नेतृत्व गरेका दलका नेता सहभागी छन् ।

यसअघि फागुन २३ गते पनि यी घटकका नेताको बैठक बसेको थियो । उक्त बैठकले संयुक्त विज्ञप्ति जारी गर्दै विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेको थियो । जनयुद्धकालीन नेताबीच एकता हुनुपर्ने आवाज पनि योबीचमा उठेको छ । शुक्रबार बसिरहेको बैठकमा यिनै एजेण्डामा छलफल भइरहेको बताइएको छ ।

तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले दिएको ‘जनयुद्धकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा आफूले लिने’ अभिव्यक्तिलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै उनलाई तत्काल गिरफ्तार गर्न माग गरेर सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । बिहीबार हेर्न नभ्याइएपछि शुक्रबार (आज) का लागि यो मुद्दाको पेसी तोकिएको छ ।