NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपाली गलैंचा– स्वदेशीले रुचाएनन्, विदेशमा हाईहाई

धेरै माग अमेरिकाबाट, भारतीय र चिनियाँले पनि ओछ्याउन थाले

काठमाडौं । ०७२/७३ सालतिर नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा गलैंचा पथ्र्यो । त्यसअघि भने फलाम तथा स्टिलजन्य वस्तुले यो स्थान लिएका थिए । पछिल्ला वर्षहरूमा पनि नेपालबाट निर्यात हुने वस्तुहरूको फेरबदलक्रम  जारी छ ।

अहिले नेपालबाट सबैभन्दा बढी निकासी हुने वस्तुमा प्रशोधित पाम तेल छ । तथ्यांकअनुसार, योपछि नेपालबाट प्रशोधित भटमास तेल बढी निकासी हुन्छ ।

आयात कहालीलाग्दोसँग अकाशिएर व्यापार घाटा बढोत्तरी भइरहेका बेला त्यसलाई न्यूनीकरण गर्न राम्रो भूमिका खेलिरहेको छ, गलैंचाले । नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाँचौं वस्तुमा गलैंचा पर्छ । विदेशिले नेपाली गलैंचा रुचाए पनि स्वदेशीको रोजाइमा भने पर्न सकेको छैन ।

७ महिनामा ६ अर्बको गलैंचा निर्यात

चालु आर्थिक वर्ष ०७९/८० को सात महिनामा निर्यात तथा आयात दुवै घटेको छ । गत आवको सोही अवधिको तुलनामा निर्यात २९.९० प्रतिशतले घटेको छ भने आयात १९.९० प्रतिशतले । चालु आवको माघसम्ममा ९ खर्ब ४३ करोडको वस्तु आयात हुँदा ९३ अर्ब ४३ करोड रूपैयाँ मात्रै निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै १३ अर्ब ९२ करोडको मात्रै पाम तेल निर्यात भएको छ ।

चालु आवको सात महिनामा नेपालबाट ७ अर्ब ७० करोड ६६ लाख रूपैयाँ बराबरको गलैंचा निर्यात भएको छ ।

अमेरिकासहित ६० भन्दा बढी मुलुकमा निर्यात

नेपाली गलैंचा अमेरिकीले सबैभन्दा बढी रुचाएका छन् । नेपाली गलैंचा हाल अमेरिकासहित विश्वका ६९ देशमा निर्यात हुँदै आएको छ ।  चालु आवको सात महिनामा यी मुलुकमध्ये सबैभन्दा धेरै अमेरिकामा नेपाली गलैंचा निर्यात भएको छ । यो अवधिमा ४ अर्ब ६ करोड ९३ लाख रूपैयाँबराबरको गलैंचा अमेरिका निर्यात भएको हो । अमेरिकापछि सबैभन्दा धेरै युकेमा ४४ करोड ३३ लाख, इटालीमा ३३ करोड ६६ लाख, छिमेकी मुलुक भारतमा २० करोड ३६ लाख, फ्रान्समा १८ करोड ८८ लाख, क्यानडामा १५ करोड ४ लाख, बेल्जियम १३ करोड २० लाख र  अस्ट्रेलियामा ११ करोड २२ लाख रूपैयाँको गलैंचा निर्यात भएको छ । तथ्यांकअनुसार, नेपालको अर्को छिमेकी मुलुक चीनमा १० करोड ९४ लाखको गलैंचा निर्यात भएको देखिन्छ ।

यीबाहेक अन्य देशका नागरिकले पनि नेपाली गलैंचामा दिलचस्पी राखेका छन् । पछिल्लो सात महिनामा स्वीजरल्याण्डमा ९ करोड, उराग्वेमा ४ करोड ८ लाख, रसियामा ५ करोड २ लाख, लटभियामा १ करोड ३० लाख, न्युजिल्याण्डमा १ करोड १८ लाख, डेनमार्कमा १ करोड २ लाख, जापानमा १ करोड २४ लाख, स्विडेनमा १ करोड १६ लाख, युनाइटेड अरबमा ४ करोड ९४ लाख र अस्ट्रियामा ४ करोड ७४ लाख रूपैयाँको गलैंचा निर्यात हुनुले पनि यही देखाउँछ ।

भन्सार विभागका अनुसार, करोडभन्दा तल अन्य धेरै मुलुकमा नेपाली गलैंचा निर्यात हुने गरेको छ ।

नेपाली बजारमा गलैंचाको छैन माग

हुन त, गलैंचा अनिवार्य वस्तु होइन । यसलाई विलासिता वस्तुकै रूपमा गणता गरिन्छ । ग्रामीण क्षेत्रमा यसको प्रयोग न्यून हुन्छ । अहिले पनि गाउँघरमा गुन्द्री, मान्द्रो नै प्रचलनमा छन् । सहरी क्षेत्रमा मात्रै गलैंचाको प्रयोग अलि बढी देखिन्छ । त्यसमा पनि अधिकांशले मेसिनबाट निर्मित गलैंचा प्रयोग गरेको पाइन्छ । केहीले मात्रै सोखको रूपमा स्वदेशी गलैंचा ओछ्याउँछन् ।

नेपालमा बनेका गलैंचाको बजार भनेको नै अन्तराष्ट्रिय बजार हो । उत्पादन भएका गलैंचा विदेशमा नै निर्यात हुने गर्दछ । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङ उत्पादनको १ प्रतिशत पनि गलैंचा नेपालमा प्रयोग नहुने बताउँछन् । उनका अनुसार ०.५ प्रतिशत मात्रै नेपाली बजारमा यसको माग छ ।

जानकारहरू स्वदेशी गलैंचा स्वदेशमै प्रयोगमा नआउनुको पछाडि मुख्य दुई कारण रहेको बताउँछन् । उनीहरूका अनुसार, एउटा कारण स्वदेशी उत्पादनप्रति विश्वास नहुन हो भने अर्कोचाहिँ हाते निर्मित भएकाले महँगो हुनु ।

अध्यक्ष गुरुङ पनि यसमा आशिंक सत्यता बताउँछन् । ‘नेपालीले महँगो भएकाले नेपाली गलैंचा प्रयोग गर्न सकेनन् भन्ने तर्क आंशिक सत्य भए पनि शत प्रतिशत होइन । नेपालीले चाहेमा स्वदेशी गलैंचा किनेर प्रयोग गर्न सक्छन्,’ उनले भने ।

गुरुङ सामान रोज्दा मूल्यभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् ।  ‘नेपाली गलैंचा महंगोभन्दा पनि बलियो छ । साथै क्वालिटी, डिजाइन पनि धेरै राम्रो छ,’ गुरुङले अगाडि थपे ।

गुरुङका अनुसार, नेपालीको क्रयशक्तिले धान्ने गलैंचा बजारमा उपलब्ध छन् । ‘दुई/चार करोडको घर किन्न सक्नेले ५०/६० हजारको गलैंचा किन्न नसक्ने भन्ने हुँदैन, चाहेमा एक लाख रूपैयाँसम्मको गलैंचा ओछ्याउन सक्छन्, स्वदेशी उत्पादन प्रयोग गर्ने बानी नभएर यस्तो भएको हो,’ उनले भने ।

नेपाली उद्योगले उत्पादन गरेका गलैंचा न्यूनतम ९ हजार रूपैयाँदेखि लाखौं रुपैयाँसम्मका छन् । गुरुङ क्वालिटी र गुणस्तरमा यसको मूल्य निर्भर गर्ने सुनाउँछन् ।

अध्यक्ष गुरुङ स्वदेशी उत्पादनलाई हेर्ने नेपालीको नजरीयामा समस्या रहेकाले त्यसलाई सुधार्नुपर्ने खाँचो औंल्याउँछन् । नेपाली उद्योग र उत्पानलाई नेपालीहरूले सम्मान गरेको खण्डमा स्वदेशभित्रै गलैंचा बजार निर्माण हुने उनको दाबी छ ।

छन् चुनौती नै चुनौती

अहिले विश्व आर्थिक मन्दीको चपेटामा परेको छ । महँगीले आकाश छोइसकेको अवस्था छ । कोरोना भाइरसको प्रभाव त्यसपछि रुस–युुक्रेनको युद्ध थला परेको नेपालसहित विश्वकै अर्थतन्त्र अझै लयमा फर्किन सकेको छैन ।

अर्थतन्त्रमा देखिएको मन्दीको असर उद्योग, व्यवसाय, पर्यटनलगायत सबै क्षेत्रमा परेको छ । केही उद्योगहरु विस्तारै उठ्न थाले पनि अधिकांश उद्योगहरू अझै माथि उठ्न सकेका छैनन् ।

संघका अध्यक्ष गुरुङ कोरोना भाइरस र रुस–युुक्रेन युद्धका कारण उद्योगमा पुगेको क्षति अहिले पनि कभर हुन नसकेको बताउँछन् । कोभिडपछि अन्तर्राष्ट्रिय मेला सम्मेलनहरु रोकिएको र यसले स्वदेशी गलैंचाको बजारीकरणमा धक्का लागेको उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा गलैंचाको माग राम्रो भए पनि उत्पादन लागत उच्च हुँदा मूल्य महँगो पर्न गएको र यसको असर निकासीमा परेको उनले गुनासो गरे । वार्षिक १० देखि ११ अर्बको गलैंचा निर्यात गर्ने उद्योगको लक्ष्य पूरा भए पनि कम्पनीले नाफा भने गर्न सक्ने स्थिति नभएको गुरुङले बताए ।

स्वदेशी गलैंचामा देखिएको अर्को चुनौती भनेको मेसिनबाट बुनिएको गलैंचाको बजार बढ्नु हो । मेसिनबाट बनेको गलैंचा हातबाट बुनेको गलैंचाभन्दा सस्तो हुने भएकाले स्वदेशी गलैंचा उद्योगलाई यसले थप चुनौती सिर्जना गरेको उनले बताए ।

गलैंचा उद्योगमा रहेको अर्को ठूलो समस्या बैंक ब्याजदर दोब्बरले बढ्नु हो । अहिले बैंकको ब्याजदर १५ प्रतिशतभन्दा बढी हुँदा यसले उद्योगलाई थप समस्या परेको उनी बताउँछन् । सरकारले बैंक ब्याजदर कम गराउन पहल गरे उद्योगी व्यवसायीहरूलाई धेरै राहत मिल्ने गुरुङले बताए ।

दक्ष कामदारको अभाव

दैनिक हजारौं संख्यामा नेपालीहरु वैदेशिक रोजागरीमा जाने गरेका छन् । नेपालमा भनेजस्तो रोजगारी नपाउनु र पाएको खण्डमा त्यसले गुजारा चलाउन हम्मे पर्ने भएकाले अधिकांशको रोजगार गन्तव्य खाडी र केहीको युरोप, अमेरिकालगायतका सम्पन्न देश पर्ने गरेका छन् ।

यता, संघका अध्यक्ष गुरुङ भने खोजेजस्तो दक्ष मजदुर पाउनै छाडेको बताउँछन् । ‘काम गर्ने दक्ष गलैंचा बुन्ने कामदार पाउन मुस्किल भएको छ । नेपालमा युवाहरू टिक्नै नसक्ने भयो, विदेश जाने लहर नै चल्यो,’ उनले भने ।

सम्भावना

सरकारले स्वदेशमै युवाहरुलाई सीप र तालिमको व्यवस्था गरे रोजागर प्रदान गर्न उद्योगहरू जति पनि भएको उनी बताउँछन् । सरकारले युवाहरूलाई तालिमप्राप्त बनाए, त्यहीअनुसार काम पाउन गाह्रो नभएको अध्यक्ष गुरुङको भनाइ छ ।

नेपालमा बेरोगारको संख्या घटाउनमा गलैंचा उद्योगहरूले ठूलो भूमिका खेलेका छन् । गलैंचा उद्योगहरूले देशभर अनुमानित एक लाखभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएका छन् । अर्कोतिर देशको अर्थतन्त्रलाई गलैंचा उद्योगहरूले आडभरोसा दिएका छन् । गुरुङ यो उद्योग सम्भावनासँगै समस्या र चुनौती पनि उत्तिकै रहेको सुनाउँछन् ।

सरकारले गलैंचा उद्योगलाई प्रोत्सहान गर्ने नीति ल्याएर सहयोग गरेमा उद्योगले फड्को मार्ने उनको विश्वास छ । स्वदेशमा आफ्ना वस्तुको बजार निर्माण गर्न सरकारले पनि आवश्यक नीति निर्माण गर्ने पर्ने उनको भनाइ छ । सरकाले स्वदेशी उत्पादनप्रति ‘नोटिस’ गरेर सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न लगाए स्वदेशी उद्योग फस्टाउने र उद्योगी व्यवसायीहरूलाई थप प्रोत्साहन मिल्ने गुरुङ बताउँछन् ।