NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरिन् ।

मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताइन् । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । उनले भनिन्, ‘स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।’

विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरिन् । स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उनले भनिन्, ‘बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न दिँदैनौँ । स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध छ ।’ गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताइन् । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय सरकार प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताइन् ।

कार्यक्रममा गाउँपालिकाको विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।