NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

यी हुन् अर्बमाथि भाका नाघेको ऋण भएका सरकारी संघ–संस्थानहरू

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले प्राप्त गर्नुपर्ने भाका नाघेको ऋण र ब्याज नै एक खर्ब आठ अर्ब दुई करोड पुगेको छ । ५८ वटा संस्थामा सरकारको भाका नाघेको ऋण छ ।

जनउपयोगी क्षेत्रसँग ७६ अर्ब ७४ करोड, औद्योगिक क्षेत्रसँग १९ अर्ब ४८ करोड, सेवा क्षेत्रसँग दुई अर्ब ७८ करोड, स्थानीय तह/निकायसँग दुई अर्ब ७० करोड, सामाजिक क्षेत्रसँग दुई अर्ब ४१ करोड, विकास समितिसँग दुई अर्ब आठ करोड, व्यापारिक क्षेत्रसँग एक अर्ब ३० करोड र वित्तीय क्षेत्रसँग उठाउनुपर्ने ५० करोड साँवा तथा ब्याजको भाका व्यतीत भइसकेको छ । भाका नाघेको ऋण सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरणको छ । प्राधिकरणले सरकारसँग लिएको ३८ अर्ब २४ करोड साँवा र २४ अर्ब ८२ करोड ब्याज गरी ६३ अर्ब ७ करोड ऋणको भाका नाघेको छ ।

त्यस्तै, नेपाल खानेपानी संस्थानले तीन अर्ब नौ करोड साँवा र चार अर्ब ४९ करोड ब्याज गरी सात अर्ब ५८ करोड, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले तीन अर्ब ५४ करोड साँवा र दुई अर्ब २१ करोड ब्याज गरी पाँच अर्ब ७६ करोड, जनकपुर चुरोट कारखाना लिमिटेडले दुई अर्ब ५५ करोड साँवा र एक अर्ब ३३ करोड ब्याज गरी तीन अर्ब ८८ करोड, उदयपुर सिमेन्ट उद्योग लिमिटेडले एक अर्ब ७२ करोड साँवा र एक अर्ब ३४ करोड ब्याज गरी तीन अर्ब ६ करोड, विराटनगर जुट मिल्स लिमिटेडले एक अर्ब १७ करोड साँवा र ९१ करोड ब्याज गरी दुई अर्ब आठ करोड, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक अर्ब ३९ करोड साँवा र ३० करोड ब्याज गरी एक अर्ब ६९ करोड, नेपाल ओरिन्ड म्याग्नेसाइटले ५२ करोड साँवा र एक अर्ब ४५ करोड ब्याज गरी एक अर्ब ९८ करोड तथा गोरखकाली रबर उद्योगले ८२ करोड साँवा र एक अर्ब ११ करोड ब्याज गरी एक अर्ब ९४ करोड भाका नाघेको ऋण तिर्नु छ ।

त्यस्तै, बुटवल धागो कारखानाले एक अर्ब दुई करोड साँवा र ५३ करोड ब्याज गरी एक अर्ब ५५ करोड, नागरिक उड्डयन प्राधिकरणले ३९ करोड साँवा र एक अर्ब चार करोड ब्याज गरी एक अर्ब ४३ करोड, काठमाडौं उपत्यका विकास प्राधिकरणले एक अर्ब एक करोड साँवा र २५ करोड ब्याज गरी एक अर्ब २६ करोड तथा काठमाडौं महानगरपालिकाले ३७ करोड साँवा र ६६ करोड ब्याज गरी एक अर्ब तीन करोड भाका नाघेको साँवा र ब्याज तिर्न बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।