NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

संसारकै सबैभन्दा कम ऋण भएको देश, जहाँ छैन आर्थिक मन्दीको प्रभाव

एजेन्सी कोरोना महामारीसँग जुध्न आकस्मिक समस्याका लागि बजेट नहुँदा धेरै देशले खर्च बढाउनुपरेको थियो । कोभिड–१९ ले विश्व अर्थतन्त्रमा निकै गम्भीर असर पारेको छ ।

अहिले जसरी विश्वभरी नै मूल्यवृद्धि भएको छ, यसको पछाडिको कारण पनि महामारीमा भएको खर्च नै हो ।

तर यी सबै चुनौतीको सामना ब्रुनाई भन्ने देशले गर्नुपरेको छैन । विश्वभर पछिल्लो समयमा आर्थिक मन्दी छाइरहँदा यो देशमा भने कुनै समस्या छैन ।

विश्वका धेरै देशहरूको ऋण अत्याधिक रूपमा बढेको छ तर ब्रुनाईमा सबै कुरा नियन्त्रणमा छ।

कुल गार्हस्थ्य उत्पादनको तुलनामा यो देशमा १.९ प्रतिशत मात्र ऋण छ । यो संसारकै सबैभन्दा कम ऋण हो । यसको मतलब ब्रुनाईको अर्थतन्त्र स्वस्थ छ भन्ने चाहिँ होइन ।

धेरै विकासोन्मुख देशहरूमा जीडीपीमा धेरै कम ऋण छ किनभने यी देशहरूमा सम्पत्ति र ऋण दुवै कम छन्। तर, ब्रुनाईमा त्यस्तो छैन ।

पेट्रो स्टेट र अपार सम्पत्ति

ब्रुनाईका जनताको जीवनस्तर विश्वका समृद्ध देशहरूसँग तुलना गर्न सकिन्छ । यसको कारण यहाँ तेल र ग्याँसको भण्डार छ ।

लन्डन स्कूल अफ ओरिएन्टल एण्ड अफ्रिकन स्टडीजका प्रोफेसर उल्रिच वाल्ज भन्छन्, ‘ब्रुनाई पेट्रो राज्य हो । कच्चा तेल र ग्यास उत्पादनले देशको कुल गार्हस्थ उत्पादनको ९० प्रतिशत हिस्सा ओगटेको छ।’

एक अनुमान अनुसार, २०१७ को अन्त्य सम्म, ब्रुनाईमा एक अरब ब्यारेल भन्दा बढी तेल थियो । त्यसैगरी त्यहाँ २ दशमलव ६ ट्रिलियन घनमिटर ग्याँस रहेको थियो ।

दक्षिणपूर्वी एसियाको ब्रुनाई टापुको उत्तरी तटमा अवस्थित यस देश मलेशिया र इन्डोनेसियासँग सिमाना जोडिएको छ । देशका शासक सुल्तान हसनल भोल्किया र उनको शाही परिवारसँग अपार सम्पत्ति रहेको छ । ब्रुनाईका नागरिकले कुनै आयकर तिर्दैनन् । त्यहाँको सरकारले निःशुल्क शिक्षा र चिकित्सा सेवा पनि नि:शुल्क उपलब्ध गराएको छ । देशको राजधानी बन्दरसेरी बागवान घुम्न आउनेहरू यो सुरक्षित, सफा र शान्त ठाउँ भएको बताउँछन् ।

सुल्तान आफ्नो प्रजामाझ निकै लोकप्रिय छन् । उनीहरूले समय समयमा खाँचोमा परेकाहरूलाई प्लट र तयार घरहरू पनि दिन्छन् । यो जनसंख्याको हिसाबले सानो देश हो । यहाँ करिब पाँच लाख मानिस बस्छन् । यो जनसंख्या पनि देशको सानो क्षेत्रमा बसोबास छ। ब्रुनाईमा ऋण घट्नुको कारण पेट्रोकेमिकल उत्पादनको बिक्रीबाट प्राप्त रकम हो।

तेल र ग्यासबाट हुने आम्दानीका कारण देशमा ठूलो नगद सञ्चिति छ । यही पैसाबाट देशका शासकहरूले सानातिना नोक्सानको क्षतिपूर्ति दिइरहेका छन् । उनीहरुले ऋण लिनु पनि पर्दैन । वास्तवमा, ब्रुनाईको अर्थतन्त्र एकदम सानो छ र सम्पूर्ण क्षेत्रमा यसको कुनै प्रभाव छैन। यो देशको महत्व तेल र ग्यासको भण्डारका कारण मात्रै हो ।

प्रोफेसर वाल्ज भन्छन्, ‘तेल र ग्यासको निर्यातका कारण देशको चालु खाता बचतमा छ। यसको मतलब यो देशले आफूबाट ऋण लिएको भन्दा अरु देशलाई बढी ऋण दिएको छ।’ ब्रुनाई सायद विश्वमा नगण्य विदेशी ऋण भएको एक मात्र देश हो। पेट्रोलियम पदार्थबाट हुने आम्दानीले यहाँका बैंक तथा सरकारी खजाना भरिएका छन् ।

यही कारणले गर्दा सारा विश्व आर्थिक मन्दीको सामना गरिरहेको बेला ब्रुनाई शान्त छ । बाँकी विश्वले आफ्नो व्यवसाय चलाउन विदेशबाट ऋण लिनुपर्छ । महामारीका कारण धेरै देशको राजस्व घटेको र खर्च बढेकाले सरकारबाहेक निजी ऋणदाताबाट पनि ऋण लिनुपर्छ ।

अर्थतन्त्रको स्थिति कस्तो छ ?

ब्रुनाईको अर्थतन्त्रको पक्षमा एउटा कुरा यो पनि हो कि उसले जतिसुकै थोरै ऋण तिर्नु पर्छ, त्यो विदेशी मुद्रामा तिर्नु पर्दैन। अर्को राम्रो कुरा, त्यहाँको सरकारले सबै नाफा आफ्नै देशमा राख्छ ।

मूडीजका अर्थशास्त्री एरिक चियाङ भन्छन्, ‘सरकारको लागि प्रभावकारी वित्तीय व्यवस्थापन प्राथमिकतामा परेको छ । यसले देश र यसका नागरिकहरूमा पर्ने आर्थिक भारलाई निकै कम गर्छ।’

ब्रुनाईमा चालू खाता प्रायः बचतमा रहन्छ । यसले विदेशी ऋणको वित्तपोषण गर्न सजिलो बनाउँछ। देशमा ब्याज दर पनि कम छ । त्यसैले देशले कल्याणकारी कामहरूमा पैसा कटौती गर्नुपर्दैन। तर ब्रुनाईमा सबै कुरा राम्रो छ भन्न मिलिहाल्दैन । देशले आफ्नो अर्थतन्त्रको पेट्रो उत्पादनमा निर्भरता अन्त्य गर्नुपर्ने देखिन्छ । किनभने सम्पूर्ण विश्व कार्बन उत्सर्जन घटाउने लक्ष्यमा काम गरिरहेको छ र समयसँगै पेट्रो उत्पादनको खपत घट्नेछ ।

त्यसैले सिंगो अर्थतन्त्रलाई एउटै उत्पादनमा भर पर्नु खतरनाक हुन्छ। ICEX का विदेशी व्यापार विशेषज्ञ भन्छन्, ‘परिवर्तित समयमा ग्यास र तेलमा धेरै निर्भरता समस्या हुन सक्छ। किनभने विश्वको ऊर्जा मोडेल संक्रमणको चरणमा छ।’

कडा इस्लामी कानून

ब्रुनाई सन् १८८८ मा बेलायती संरक्षक बनेको थियो । सन् १९२९ मा त्यहँ तेलको भण्डार फेला परेको थियो र ड्रिलिंगको काम सुरु भएको थियो ।

सन् १९६२ मा देशमा विद्रोह भयो जसमा राजतन्त्रको विरोध गर्नेहरूले हतियार उठाए । यस विद्रोहलाई कुचल गरेपछि सुल्तानले मलेसियासँग गाभिन अस्वीकार गरे। यसै वर्षदेखि ब्रुनाईले आफूलाई छुट्टै राष्ट्र घोषणा गरेको छ । सन् १९८४ मा अंग्रेजहरु छाडेर स्वतन्त्र राष्ट्र बने ।

ब्रुनाईका शासक सुल्तान हसनल बोल्कियाह हुन् । उनको राज्याभिषेक अगस्त १९६८ मा भएको थियो । उनका पिता हाजी उमर अली सैफुद्दीनले राजगद्दी त्यागेर उनलाई राजगद्दी सुम्पेका थिए ।

सन् १९८४ मा स्वतन्त्र भएपछि सुल्तान हसनलले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरे र देशमा ‘मले मुस्लिम राजतन्त्र’ को विचारधारा अपनाए। यस नयाँ प्रणालीमा, सुल्तानलाई इस्लामको संरक्षकको रूपमा प्रस्तुत गरिएको थियो।

सन् २०१४ मा, ब्रुनाई पूर्वी एसियामा शरिया कानून लागू गर्ने पहिलो देश बन्यो।

तर २०१९ मा उनले समलिङ्गीहरूलाई ढुङ्गाले हानेर मृत्युदण्ड दिने कानुन खारेज गरे । यसका लागि उनलाई हलिउड अभिनेता जर्ज क्लुनी जस्ता ठूला व्यक्तिहरूले दबाब दिएका थिए ।