अमेरिकाबाट क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
क्यानबेरा । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।
एशिया – प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेकामा चिन्ता व्यक्त गर्दै अष्ट्रेलियाले आफ्ना हतियार भण्डारको आधुनिकीकरण गर्न तथा सामरिक सामथ्र्य वृद्धि गर्न अमेरिकाबाट आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको छ ।
अष्ट्रेलियाका अधिकारीहरूले नयाँ आणविक शक्तिबाट चल्ने पनडुब्बीबाट टोमाहक मिसाइल प्रहार गर्न सहज हुने बताएका छन् । नब्बे करोड अमेरिकी डलर मूल्य बराबरका ती क्षेप्यास्त्रको आपूर्ति एरिजोनास्थित रेथियन मिसाइल एण्ड डिफेन्सले गर्नेछ । जापानले पनि गत महिना चिनियाँ प्रभाव बढ्न नदिने प्रयासस्वरुप आफ्नो सेनाको स्तरवृद्धि गर्ने योजनाको घोषणा गरेको थियो ।
सन् २०२६ सम्ममा ४०० टोमाहक क्रुज मिसाइल खरिद गरी रणनीतिक स्थानमा तैनाथ गर्ने योजना तर्जुमा गरिएको छ । अमेरिकाले प्रस्तावित टोमाहक मिसाइल बिक्रीबाट संयुक्त राज्य अमेरिकाको विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यमा असर नपर्ने जनाउँदै पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो सबैभन्दा महत्वपूर्ण सहयोगीमध्येको एक अष्ट्रेलिया भएको बताएको छ ।
अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि आफ्नो देशले पनि अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने बताएका छन् । लामो दूरीसम्म प्रहार गर्ने क्षेप्यास्त्र आफ्नो देशसँग रहेको सुनिश्चित गर्नु राष्ट्रका निम्ति महत्वपूर्ण भएको उल्लेख गर्दै उनले मुलुकको सुरक्षाका निम्ति त्यो अझ महत्वको विषय भएको बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया