प्रधानमन्त्री प्रचण्डले पाए दोस्रोपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए । उनको पक्षमा १७२ मत परेको छ । विपक्षमा ८९ मत र तटस्थमा एक मत परेको छ । २७५ प्रतिनिधि सदस्यमध्ये २६२ जना उपस्थित थिए । जसमध्ये प्रचण्डले १७२ मत पाएका हुन् ।
१० पुसमा एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्डले एमालेसँगको पूर्वसहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री भएका प्रचण्डले धारा १०० को उपधारा २ बमोजिम दोस्रो पटक विश्वासको मत लिएका हुन् । संविधानको १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाज भए वा सरकारमा सहभागी भएका दलहरूले दिएको समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले संसदसमक्ष विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
बालकोट सहमतिअनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने र एमालेलाई राष्ट्रपति र सभामुख दिने सहमति भएको एमालेका नेताहरूको दाबी छ । तर प्रधानमन्त्री भएपछि प्रचण्डले एमालेसँगको पूर्वसहमति तोडेर कांग्रेससँग मिल्न गएको आरोप लगाएको छ ।
१२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने सहमति गरेको थियो । २६ पुसमा प्रतिनिधिसभाबाट झण्डै शतप्रतिशत विश्वासको मत पाएका प्रचण्डले दुई महिना ९ दिनमा फेरी विश्वासको मत पाएपछि तत्काल सत्तासंकट टरेको छ । उनलाई कांग्रेस, माओवादी, रास्वपा, जसपा, नेकपा एस, जपा, लोसपा, नाउपा, राजमो र आजपाले विश्वासको मत दिएको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया