NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

किन भत्काइदैंछ चक्रपथको बल्खु–खसीबजार सडकखण्ड ?

काठमाडौं । कलंकी–कोटेश्वर खण्ड अन्तर्गतको बल्खु–खसीबजार सडकको ‘सर्भिस लेन’ यतिबेला धमाधाम भत्काउन थालिएको छ । राम्रै अवस्थामा रहेको सडक भत्काउन थालेपछि यतिबेला बाटो हिँड्नेहरू सबैले अचम्म मानिरहेका छन् ।

काठमाडौं सडक डिभिजन कार्यालयले विश्व बैंकको सहयोगमा उक्त खण्डको एक किलोमिटर सडक मर्मत कार्य गरिरहेको डिभिजन प्रमुख नारायण निगुरेले जानकारी दिए ।

सडक बनेको पाँच वर्ष पनि नभइ समस्या आएपछि अहिले पुनः मर्मत कार्य भइरहेको हो । यसअघि उक्त सडक चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले निर्माण गरेर काठमाडौं सडक डिभिजनलाई हस्तान्तरण गरेको थियो ।

‘एक किलोमिटर सडकमा बेस फेलियर देखिएपछि हिजोबाट मर्मत सुरू गरिएको हो,’ उनले भने, ‘विश्व बैंकको सहयोग अन्तर्गत यो काम भइरहेको छ ।’ उनका अनुसार विश्व बैंकको सहयोग अन्तर्गत सडक विभागले अन्य ७/८ वटा काम गरिरहेको छ । सोही प्रोजेक्ट अन्तर्गत उक्त सडक खण्डमा पनि काम भएको उनी बताउँछन् ।

निर्माणको पाँच वर्ष नपुगी समस्या कसरी आयो भन्ने प्रश्नको जवाफ भने उनीसँग छैन । ‘चिनियाँहरूले सुरुमा बनाएका हुन्,’ उनले भने, ‘सतहमा प्राविधिक समस्या देखिएपछि हामीले मर्मतको काम सुरू गरेका हौं ।’ उनका अनुसार सडक एक महिनाभित्रमा कालोपत्रे गर्नेगरी पी.आर कन्स्ट्रक्सनले उक्त ठेक्का पाएको छ ।

सोही सडक किनारामा अलपत्र रहेको ‘साइड लेन’ को निर्माणमा भने डिभिजनको ध्यान छैन ।