बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार अनुगमन नगर्दासम्म परिणाम प्रभावकारी आउन नसक्ने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘राजश्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ । बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।’
उनले अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न समेत निर्देशन दिए । ‘कच्चापदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस् । सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्’, उनले भने ।
प्रधानमन्त्रीले आयातका लागि राष्ट्रिय मापदण्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन निर्देशन दिए । उनले छलफल गर्ने, नीति बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहन नहुनेमा स्पष्ट पारे । अनुगमन सीमामा मात्र होइन, आन्तरिक बजारको पनि गर्ने गरी व्यवस्था मिलाउन उनको निर्देशन छ ।
छलफलमा अर्थ सचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायी उपस्थित थिए ।
छलफलमा सहभागी व्यवसायीका प्रतिनिधिले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताएका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया