४० प्रतिशत नेपालीको पहुँचमा एलपी ग्यास, खाना पकाउन अझै दाउराको भर

काठमाडाैं । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार ४४.३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्याँस प्रयोग गर्ने गरेको पाइएको छ ।
तथ्यांअनुसार देशका कुल परिवारमध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् । त्यस्तै ०.५ प्रतिशत परिवारले खाना पकाउँदा बिजुली प्रयोग गर्ने गरेका छन् भने गुईठा/गोरहा, २.९, बायोग्याँस १.२, मट्टितेल ०.०५ र अन्य इन्धन प्रयोग गर्ने परिवारको संख्या ०.१ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार धेरैजसो घरपरिवारहरुले आफू बसोबास गरेको घर/आवासीय एकाइमा बत्ती बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेका छन् । गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत प्रतिशत रहेकोमा हाल सो अंशमा उल्लेख्य वृद्धि भई ९२.२ प्रतिशत पुगेको छ ।
बत्ती बाल्नका लागि अक्सर सोलार/सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेका छन् । २०६८ मा बत्ती बाल्नका लागि अक्सर मट्टितेल, सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः १८.३, ७.४ र ६.१ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया