NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २४ गते

माओवादी मन्त्रीको मन्त्रालय फेरिँदै, को कुनमा ?

काठमाडौं । माआवादी केन्द्रबाट मन्त्री बनेकाहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

एमाले र राप्रपासँगको गठबन्धन बदलेर पुरानो गठबन्धनमा फर्किएका प्रचण्ड कांग्रेस, एकीकृत समाजवादीलगायत दललाई समेटेर आफू नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । मन्त्रालय भागबण्डाको खाका टुंग्याएका प्रचण्डले त्यसलाई कार्यान्वयन गर्ने क्रममा पार्टीको तर्फबाट मन्त्री रहेकामध्ये केहीको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका हुन् ।

गत पुस १० मा प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा माओवादीले एक उपप्रधानसहित चार मन्त्री र एक राज्य मन्त्री पाएको थियो । जसमा नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, सुदन किराँती संस्कृति तथा नागरिक उड्डयन, अमन लाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन र सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

यीमध्ये दुई मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । नारायणकाजी श्रेष्ठले उपप्रधानसहित गृह मन्त्री पाउने भएका छन् । अर्थ र गृहमध्ये एकमा दाबी प्रस्तुत गरेको माओवादीलाई गृह दिन कांग्रेस तयार भएपछि श्रेष्ठलाई उक्त जिम्मेवारी दिन लागिएको हो । स्रोतका अनुसार, प्रचण्डले श्रेष्ठलाई मन्त्रालय परिवर्तन गर्न लागिएको जानकारी गराइसकेका छन् ।

श्रेष्ठ सुरुमै यो मन्त्रालयको आकांक्षी थिए । तर अघिल्लो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा गृह परेपछि उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएर सहभागी भएका थिए ।

मन्त्रालय फेरिने भएपछि श्रेष्ठले आइतबार नै पत्रकार सम्मेलन गरेर योबीचमा आफूले गरेका काम सार्वजनिक गर्ने तयारी गरेका छन् ।

श्रेष्ठको सचिवालयले आइतबार पत्रकार सम्मेलन गर्न लागिएको जनाए पनि मन्त्रालय हेरफेरबारे भने अनभिज्ञता प्रकट गर्यो ।

त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पनि मन्त्रालय परिवर्तन हुने करिब पक्का भएको छ । छोटो समयमा नै नतिजामूलक काम गरिरहेका मन्त्री मोदीले यही मन्त्रालयमा काम गर्ने रुचि देखाएका छन् । तर उनलाई सहरी विकास वा ऊर्जामध्ये एकमा सार्ने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले बतायो ।

कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि रुचि देखाएको छ । सरकारको नेतृत्व आफूसँग भएकाले प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्ने यो मन्त्रालय अरूलाई दिन माओवादीले अस्वीकार गरेपछि रेखा शर्माले भने निरन्तरता पाउने भएकी छन् ।

माओवादीका अर्का मन्त्री सुदन किराँती र सुशीला सिर्पाली ठकुरीलाई भने पुरानै जिम्मेवारीमा प्रचण्डले निरन्तरता दिने भएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष