NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

तनहुँ-१ र बारा-२ का लागि उम्मेदवार खोज्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभाको चितवन–२, तनहुँ–१, बारा–२ मा गठबन्धन नगरी निर्वाचन लड्ने भएको छ । रास्वपाको केही दिनअघि बसेको बैठकले गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जाने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता खारेज गरेपछि प्रतिनिधिसभाको चितवन–२, रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि तनहुँ १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव  विजयी बनेपछि बारा २ रिक्त छन् । रिक्त यी तीन वटै स्थानमा निर्वाचन आयोगले आगामी वैशाख १० का लागि चुनाव गर्ने तय गरेको छ ।

निर्वाचन मिति नजिकिँदै गर्दा रास्वपाले आन्तरिक तयारी थालेको छ । पहिलो चरणमा उसले उम्मेदवारबारे छलफल आरम्भ गरेको छ । चितवन–२ को हकमा यस पटक पनि रवि लामिछाने नै उम्मेदवार हुने भएका छन् । लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा अत्यधिक मतका साथ विजयी भएका थिए ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलापछि एकसाथ सांसद, मन्त्री र पार्टी सदस्यता गुमाएका लामिछाने दुई राहदानी प्रयोग गरेका कारण थप छानबिनमा तानिएका छन् । प्रहरीले यसबारे राहदानी दुरूपयोग नगरेको निचोड निकालेसँगै उनलाई पुनः उम्मेदवार हुन सहज भएको छ ।

तनहुँ–१ र बारा–२ मा भने कसलाई उम्मेदवार बनाउने रास्वपाले निर्णय गरिसकेको छैन । स्रोतका अनुसार, त्यहाँ कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल चलिरहेको छ ।

‘चितवन २ मा रवि लामिछानेलाई उम्मेदवार बनाउने निश्चित भए पनि तनहुँ १ र बारा–२ मा उम्मेदवार बनाउने पात्र खोजी भइरहेको छ,’ रास्वपा स्रोतले भन्यो ।