NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एकीकृत समाजवादीबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । सरकारमा तीन मन्त्रालय दाबी गरेको एकीकृत समाजवादीले निर्वतमान महासचिव एवं राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालको नेतृत्व सरकारमा जाने लगभग निश्चित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सरकारको नेतृत्वमा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र उपमहासचिव प्रकाश ज्वालासमेतले दाबी गरेका थिए ।

तर पार्टीको तर्फबाट मन्त्रीहरूको नेतृत्व गरेर सरकारमा पठाउने सर्तमा घनश्याम भुसाललाई महासचिव बनाएकोले भुसालकै नेतृत्वमा सरकारमा जाने लगभग निश्चित भएको एक पदाधिकारीले जानकारी दिए ।

‘पार्टीकोतर्फबाट नेतृत्व लिन भुसालजीसहित उपाध्यक्ष पाण्डे र ज्वालाजी पनि इच्छा देखाउनुभएको छ । पार्टीको तर्फबाट भुसालले नै नेतृत्व गर्नुहुनेछ । पार्टीले तीन जना मन्त्री दाबी गरेपछि सत्ता साझेदार दलहरूबीच सहमति भएको छैन । भागबण्डामा सहमति भए भोलिसम्म पार्टीले सरकारमा जाने मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाउँछौं’, ती नेताले भने ।

नेताका अनुसार एकीकृत समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना रहेको छ । नेकपा एसबाट भुसालसहित ज्वाला, भानुभक्त जोशी, धनबहादुर बुढा, पूर्वमन्त्रीहरू मेटमणि चौधरी, प्रेमबहादु आले र किसन श्रेष्ठले मन्त्री बन्न आकांक्षा देखाएका छन् ।