NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सत्तागठबन्धनको बैठक बस्दै, टुंगिएला भागबण्डा

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारूढ दलको बैठक आज पनि बस्ने भएको छ । यसबारे केही दिनदेखि निरन्तर छलफलमा रहेका सत्तागठबन्धन दलका शीर्ष नेताहरू सोमबार पुनः संवादमा बस्न लागेका हुन् ।

मन्त्रालयको भागबण्डाबारे किनारा लगाउन मंगलबार अपराह्न ४ बजे सत्तारुढ गठबन्धन दलका शीर्ष नेताको बैठक बस्न लागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

आजको बैठकमा मन्त्रालयको भागबण्डासँगै दलबाट सहभागी हुने मन्त्रीबारे छलफल हुने बताइएको छ ।

पुस १० मा आफू नेतृत्वमा सरकार गठन भएपछि प्रचण्डले माओवादी केन्द्रलाई एक उपप्रधानसहित ४ मन्त्री र एक राज्यमन्त्री राखेर बाँकी एमाले, राप्रपालगायत दललाई बाँडेका थिए । सरकारमा सम्मिलित दलमध्ये  एमाले र राप्रपा समर्थन फिर्ता लिएर बाहिरिएपछि १६ मन्त्रालयको जिम्मेवारी यतिबेला प्रधानमन्त्री प्रचण्ड एक्लैको काँधमा छ । जिम्मेवारीविहीन यी मन्त्रालयमध्ये गृह आफूसँग राखेर बाँकी सत्तागठबन्धनमा सामेल १० दललाई बाँड्ने मनस्थितिमा प्रचण्ड भए पनि पेचिलो बनेको छ ।

आफू नेतृत्वको मन्त्रिपरिषद् सोमबार नै विस्तार हुने प्रचण्डले बताएका भए पनि गठबन्धन दलभित्रै बाँडफाँट मिल्न बाँकी रहेकाले अझै केही दिन लाग्ने देखिएको छ ।