NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मिटरब्याज शोषणविरूद्ध संयुक्त रूपमा लडौं : मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितका समस्या समाधानका लागि संयुक्त रूपमा लड्न आह्वान गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले आन्दोलन मधेशबाट उठेपनि देशकै समस्या भएको उल्लेख गरेका छन् । एकातिर बैंकले ऋण नदिने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर साहुहरूको अत्याचार द्रव्य पिवाशी प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

शोषणविरूद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेशसमेतले मिलेर संयुक्त रूपमा काम गर्नुपर्ने भन्दै उनले समस्या समाधानका लागि अधिकार सम्पन्न विशेष शक्तिशाली आयोग गठन गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘पैदल हिंडेर काठमाडौं पुग्नुभएका र काठमाण्डौ पुग्न नसकी घरमै उकुसमुकुसमा पर्नुभएका मिटरब्याज पीडित दाजुभाई दिदीबहिनीहरुको समस्याप्रति हामी गम्भीर छौ । मधेशबाट उठेपनि यो समस्या देशकै हो। एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरुमा अत्याचार नै गर्ने द्रव्य पिवाशी प्रवृति देखिएको छ। शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

जनताले न्याय मागिरहेका अवस्थामा बैंकले बाटो खोली आम जनतामा सहज र सुलभ रुपमा ऋण प्रवाह गर्न माग गरेका छन् । साथै केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको उनले स्वागत गरेका छन् । उनले ठूलो बेदना बोकेर काठमाण्डौ आएका मिटरब्याज पीडितको मागप्रति मधेश सरकारको पूर्ण साथ रहने उल्लेख गरेका छन् ।