NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थालेका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गरेका अर्थमन्त्री महतले आज सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरेका हुन् ।

विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाएका छन् । ‘हाम्रा नीति निर्माता र नियामकको अस्थिरताका कारण सिर्जित भएको मसस्याका कारण पूँजीबजार घटेको हो भन्ने हाम्रो बुझाइ छ । नेपालको पूँजीबजारमा ठूलो सङ्ख्यामा लगानीकर्ता जोडीएकाले उनीहरुको मनोविज्ञान बुझिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छौँ । अर्थमन्त्री महतले तत्कालका लागि मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएको पनि पौडेलले बताए ।

अर्थमन्त्रीको सचिवालयकाअनुसार आज नेपाल बैंकर्स सङ्घसँगको छलफलका क्रममा पनि उहाँले यो प्रतिबद्धता दोहो¥याएका छन् । ‘नेपाल बैंकर्स सङ्घसँग बैंकको ब्याजदर, तरलता अभाव र कर्जा असुलीमा देखिएका समस्याका बारे छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री महतले सबै क्षेत्रको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै आगामी दिनमा सम्बादलाई निरन्तरता दिनेसमेत आश्वासन दिएका छन् ।’ अर्थमन्त्रीको सचिवालयले जनाएको छ । फोरम र बैंकर्स सङ्घसँगको भेटलगत्तै अर्थमन्त्री महतले नेपाल धितोपत्र बोर्डलाई केही दिनभित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न निर्देशनसमेत दिएका छन् ।

आजै अर्थमन्त्री महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट समितिको बैठक बोलाएका छन् । गृहमन्त्रीसमेत सदस्य रहने बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सहभागी थिए ।

हिजो आइतबार निजी क्षेत्रका छाता सङ्गठनहरूले अर्थमन्त्री महतलाई भेटेर अर्थतन्त्र सुधारका विषयमा छलफल गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग परिसङ्घसँगको छलफलमा पनि अर्थमन्त्री महतले अहिले आर्थिक क्षेत्रको खस्कँदा मनोबल उकास्न आपूm लागिपर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्रीसँगको भेटवार्तामा बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नेपाल राष्ट्र बैंक र सरकारले संयुक्तरुपमा पहल गर्नुपर्ने, सरकारको पूँजीगत खर्च बढाउनुपर्ने, सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र वैदेशिक लगानी भित्र्याउनका पहल गर्नुपर्नेलगायत सुझाव दिएको महासङ्घले आइतबार विज्ञप्तिमार्फत् जनाएको छ ।

महासङ्घकाअनुसार अर्थमन्त्री महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका छन् । ‘तपाईँको मनोबल घट्न दिन्न, तपाईसँग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपार्इँबाट पूर्णसहयोग पाउने अपेक्षा गरेको छु ।’ अर्थमन्त्री महतले दिएको जवाफबारे महासङ्घले भनेको छ ।

त्यसैगरी, नेपाल उद्योग परिसङ्घले अर्थमन्त्री महतलाई भेटेर अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने १० बुँदे सुझाव दिएको छ । चुनौतीपूर्ण रहेको अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने, लगानीका लागि प्रोत्साहनलगायतका गर्नुपर्नेसुझाव परिसङ्घले दिएको छ ।

‘ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन संस्थागत सामाजिक उत्तरदायित्व तीन प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाईनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको संचित कोषमा भएको मौज्दात रकमको शतप्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।’ परिसङ्घले भनेको छ । त्यस्तै, मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, शेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार शतप्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसङ्घले दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष