NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

लगातार खस्किँदै नेपालमा विधिको शासन, डेनमार्क पहिलो, १०७ औं स्थानमा रुस

काठमाडौं । नेपालमा विधिको शासन एकपछि अर्को कमजोर बन्दै गएको पाइएको छ । एक अध्ययन अनुसार, विगत आठ वर्षमा नेपालको कानूनी राज्यको अवस्था खस्किएर २१ स्थान तल झरेको छ ।

वर्ल्ड जस्टिस प्रोजेक्ट (डब्लुजेपी) ले विभिन्न देशहरूको कानूनी शासनको अवस्थाबारे अध्ययन गरेर बर्सेनि प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । सो अध्ययनले नेपालको विधिको शासन लगातार कमजोर बन्दै गएको देखाएको हो ।

डब्लुजेपी प्रतिवेदनअनुसार, सन् २०२२ मा नेपाल ६९ औं स्थानमा झरेको छ । जबकि, आठ वर्षअघि सन् २०१५ मा नेपाल विधिको शासन हुने मुलुकको ४८ औं स्थानमा थियो ।

दण्डहीनता, न्यायलयमाथिको राजनीतिक हस्तक्षेपलगायत कारणले पछिल्लो समय नेपालमा विधिको शासन कमजोर बन्दै गएको विज्ञहरूले बताउँदै आएका छन् ।

अवस्था खराब बन्दै गए पनि दक्षिण एसियाका देशको तुलनामा भने नेपालको पोजिसन राम्रो छ । प्रतिवेदनअनुसार, श्रीलंका ७४, भारत ७७, बंगलादेश १२७ र पाकिस्तान १२९ औं स्थानमा छ ।

विधिको शासन उच्च भएको पाँच मुलुकमा यस पटक डेनमार्क, नर्वे, फिनल्याण्ड, स्विडेन र नेदरल्याण्ड पर्न सफल भएका छन् । शक्तिशाली मुलुकहरू बेलायत १५ औं, फ्रान्स २१ औं, अमेरिका २६ औं, चीन ९५ औं र रुस १०७ औं स्थानमा समेटिएको छ ।

विधिको शासन सर्वाधिक खराब भएका देशमा यस पटक भेनेजुएला, कम्बोडिया, अफगानिस्तान, हैटी र इजिप्ट परेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष