NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

११ हजार फिटमा उडिरहेको विमानको ककपिटमा पाइलटले सर्प देखेपछि…

काठमाडौं । सर्प भन्नेबित्तिकै प्रायः मानिसको होस् गुम हुन्छ । सर्प त्यसमा पनि अति विषालु सर्प उचाइमा उडिरहेको विमानको ककपिटमा देखियो भने पाइलटको हालत के होला ?

दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ इरास्मसले उडानका क्रममा हालै यस्तै अनपेक्षित घटना सामना गरे ।

ब्लोमफन्टेनबाट प्रिटोरियातर्फको नियमित उडानका क्रममा ११ हजार फिटमा विमान उडिरहेका बेला पाइलट रुडोल्फले आफू बसिरहेको सिटमुनि बेरिरहेको अवस्थामा कोब्रा सर्प देखेका हुन् ।

रुडोल्फले बीबीसीलाई उडानका क्रममा आफूले अनपेक्षित परिस्थिति झेलेको र के भइरहेको छ भनेर सोच्नसम्म नसकेको बताए ।

‘इमानदारीपूर्वक भन्नुपर्दा त्यतिबेला मेरो दिमागले के भइरहेको थियो बुझ्न सकिरहेको थिएन,’ उनले उक्त अनपेक्षित घटनाबारे बिबिसीलाई भनेका छन् ।

उक्त डरलाग्दो क्षण आफूले पीठमा चिसो चिसो चीजले स्पर्श गरेजस्तो महसुस गरेको उनले बताए ।

‘जब मैले बायाँतिर फर्केर तल हेरेँ, त्यहाँ एउटा कोब्रा थियो। उसले सिट भित्र टाउको राख्न खोजिरहेको थियो,’ उनले त्यो घटना वर्णन गर्दै भने ।

पाइलट रुडोल्फलाई पहिल्यै थाहा थियो कि कोब्राले टोकेको ३० मिनेटभित्र उपचार नपाएमा मानिसको मृत्यु हुन्छ । उडिरहेको विमानभित्र त्यो पनि ककपिटमा आएको यो भयंकर संकटमा पाइलट थोरै मात्र भयभीत भइदिँदा पनि दुर्घटनाको खतरा हुन्थ्यो । तर चालक दलका सदस्यका अतिरिक्त चार यात्रु रहेको विमानलाई उनले संयमतापूर्वक ह्याण्डल गरे ।

रुडोल्फले उक्त परिस्थितिको वर्णन गर्दै त्यसक्रममा आफूले निकै शान्तपूर्वक सोचेको बताए । विमानभित्रको सर्प यात्रु भएतिर गएर परिस्थिति बिग्रने भयले त्यसक्रममा आफू सर्वाधिक भयभीत बनेको उनले बताए । यो सम्भावित परिस्थिति काबुमा लिन सकस पर्ने ठानेर आफूले त्यसबारे यात्रुलाई खबर गरेको उनले बताए । उनका अनुसार, यस्तो जानकारीपछि यात्रुवर्गमा सन्नाटा छाएको थियो ।

सौभाग्य नै भन्नुपर्छ, रुडोल्फ उक्त विमानलाई वेलकम सिटीमा सफलतापूर्वक अवतरण गराउन सफल भए ।

दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रुडोल्फको यो कार्यको प्रशंसा गरेका छन् ।

‘पाइलटले अद्भुत काम गरेर विमानमा सवार सबैको ज्यान बचाए,’ उनले न्युज २४ वेबसाइटसँग कुराकानी गर्दै भने ।

पाइलट रुडोल्फ भने आफूले गरेको काम खास नभएको बताउँछन्। यसमा शान्तपूर्वक बस्ने यात्रु पनि उत्तिकै प्रशंसनीय भएको उनको भनाइ छ ।

असफल भएको थियो समाउने प्रयास

बिबिसीका अनुसार, उक्त विमान उड्नुअघि नै सर्प देखिएको थियो । केही व्यक्तिले विमानमा देखिएको सर्प समाउने प्रयास गरेका थिए तर त्यो एकाएक गायब भयो ।

पाइलट रुडोल्फले विमानमा चढ्नुअघि सर्प खोज्ने प्रयास गरेको बताए । उनले भने, ‘दुर्भाग्यवश सर्प फेला परेन । त्यसपछि त्यो मरेको हुनसक्ने आशंका हामीले गर्यौं ।’

 

ताजा अपडेट

नेपालवाच विशेष